
एमसीसी पक्षधर रहेकाे केपी ओली नेकपामा एमालेकी सांसद निरु पालले भने अमेरिकी सहयोग परियोजना खारेजीको माग गरेकी छिन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद पालले एमसीसीमा उल्लेखित प्रावधान राष्ट्रघाती रहेको भन्दै खारेजको माग गरेकी हुन् ।
उनी आबद्ध दल एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भने एमसीसी पास गर्न दवाव दिँदै आएका छन् ।
सांसद पालले पार्टीभन्दा माथि देश र राष्ट्रिय स्वाधिनता माथि हुने बताउँदै एमसीसी जस्तो राष्ट्रघाती सम्झौतामा किन राष्ट्रिय सहमति गर्न आवश्यक पर्यो भन्दै प्रश्न गरिन् ।
उनले भनिन्– ‘एमसीसीले तयार पारेको प्रस्तावनामा नेपाल सरकारले छलफल गर्न, व्यवस्था बुझ्न, स्पष्टिकरण सोध्न समेत पाउने छैन् । एमसीसीमा भएको कानुन नेपालको संविधानसँग बाझिएमा नेपालकै कानुन लागू हुनुपर्ने हैन र ? दुबै कानुन बाझिएको खण्डमा एमसीसीको कानुन लागू हुने भनिएको छ, एमसीसी परियोजनाले मागेको भूभाग र अन्य संरचना कानुनी रुपमा हस्तान्तरण गर्न माग गरिएको छ ।’







