
तालिबानले आफ्नो प्रभाव बढाएपछि अमेरिका र बेलायतले त्यहाँका आफ्ना दूतावास खाली गर्न लागिपरेका छन्।
राजधानी काबुलस्थित दूतावासमा रहेका आफ्ना कर्मचारीलाई सुरक्षित स्थानमा लैजान उनीहरूले धमाधम तयारी गरिरहेका छन्। अमेरिकी दूतावासमा १४ सय कर्मचारी हुनसक्ने अनुमान छ। उनीहरूलाई सुरक्षित स्थानमा लग्न पेन्टागनले ४८ घन्टाभित्र थप तीन हजार सेना पठाउन लागेको बताइएको छ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र रक्षामन्त्री लोइड अस्टिनले अफगानी राष्ट्रपति असरफ घानीसँग कुरा गरेका थिए। उनीहरूले घानीलाई अमेरिका अफगानिस्तानको सुरक्षा र स्थिरताका लागि सधैं तयार रहेको बताए।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले भने दूतावास अझै बन्द नगरिएको बताएका छन्। यद्यपि कहिलेसम्म खुला रहन्छ भन्नेबारे ग्यारेन्टी दिन नसकेको रोयटर्सले जनाएको छ।
बेलायतले पनि आफ्ना नागरिकको मद्दतका लागि ६०० सेना पठाउने तयारी गरेको छ। सैनिक टोली यो साताको अन्तिममा पुग्ने अनुमान गरिएको छ। यसमा चिकित्सक र विशेषज्ञहरू समेत रहनेछन्।
‘हामी गृहयुद्धतर्फ बढिरहेका छौं जस्तो लागेको छ,’ बेलायती रक्षामन्त्री बेन वालासले बिबिसीलाई भनेका छन्।
अमेरिका र बेलायतसँगै जर्मनीले पनि आफ्ना नागरिकलाई आफगानिस्तान तुरुन्तै छाड्न आग्रह गरेको छ।
अवस्था यति खराब भइसक्दा पनि आफ्ना नागरिक फिर्ता गर्ने विषयमा नेपाल सरकारले भने कुनै निर्णय गर्न सकेको छैन ।
कतिपय विश्लेषकले विदेशी सेना फर्किएको छ महिनाभित्रै असरफ घानीको सरकार ढल्ने विश्लेषण गरेका छन्।







