उनीहरु सोधिरहेछन् सोधिरहेछन्
मास्क खोई
सेनिटाईजर खोई
उनीहरु कहिल्यै सोध्दैनन्
झुक्किएर पनि
मार्क्स खोई
लेनिन खोई ?

भाइरसको कारण पुँजीवाद हो
पुँजीवादको अन्त्यको उपाय मार्क्सवाद हो
मास्कसँगै मार्क्सवाद खोजौं
भन्ने मेरो अपिल छ ।

चोकमा रुगेर मास्क मात्र नखोजौं
कहिलेकाही त खोजौं स्वाधीनता र स्वाभिमान
कहिलेकाही त खोजौं कालापानी
लिपुलेक र सुस्ता पनि ।
कहिलेकाहीँ त खोजौं हराएका सपनाहरू
कहिलेकाहीँ त खोजौं सपनाहरू खोज्दाखोज्दै
हराएकाहरु-हराइएकाहरु
लुकाएकाहरु-लुकाइएकाहरु

बालुवाटारदेखि खुमलटार-बालकोट राजमार्गमा
हुइकने गाडीले सवारी चालक अनुमतिपत्र माग्दा
बरु झुक्किएर
देश बेच्ने किर्ते लाइसेन्स देखाउँछ
देखाउँदैन सेतो मास्कले छोपेको
कालो नक्कली माक्र्सवादी अनुहार ।

कोरोनाको यो याम
सत्ता चाहन्छ
मार्क्सवादीहरु पनि
मास्कले छोपिउन्

ओ शासक मेरो चेहरामा मास्क होइन
मार्क्सवाद नियाल
म गर्भमै तुहाउन खोजिएको
समाजवादी शिशु हुँ ।
मलाई जोगाउन
मेरी आमाले भोक लाग्दा आगो खाईन्
तिर्खा लाग्दा प्यास नै पिइन्

म मायादेवीको स्नेही काखमा हुर्किएको ज्ञानी हिटलर हुँ
मारिया अन्नाको स्तनपान गरेर हुर्किएको क्रूर बुद्ध हुँ
मैले चलाइन बोधगयामा ज्ञानको विश्वविद्यालय
मैले चलाइन यहुदीहरुको मृत्यु शिविर
बस् यति बुझ परिआए
म तिम्रो व्यवस्थाविरुद्धको
हिटलर र बुद्ध दुबै हुँ
तिमिले ‘क’ बाट कमल पढ्यौ
मैले ‘क’ बाट कार्ल मार्क्स पढें
मान्छेहरु मान्छे हुनुपर्छ भनेर सोचें

ओ कम्युनिस्ट घोषणापत्र बोकेको रामदास
मैले कस्तो कविता रचिदिए हुन्थ्यो जस्तो लाग्छ
यो रुन्चे याम
तिम्रो मक्किएको व्यवस्थाको पक्षमा ?

रातभरको करणी पश्चात्
बिहान ल्याएर दिएको
बेइमानी गुलाफ झैं तिम्रो कथित प्रेम
धोका हो
मलाई तिम्रो सत्ताप्रति घोर घृणा छ ।
वैंज्ञानिक समाजवाद जिन्दावाद ।।।

वीपी विद्रोही, २०७८,०४-२८

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार