तालिबान बिद्रोहीले अफगानिस्तानको उत्तरी क्षेत्रमा सरकारको नियन्त्रणमा रहेको अन्तिम प्रमुख शहर मजार–ए–शरीफ पनि कब्जा गरेका छन् ।

मजार–ए–शरीफलाई परम्परागत रुपमा तालिबान विरोधी शहरका रुपमा लिने गरिन्छ । सो शहर पनि कब्जामा लिनु तालिबानका लागि ठूलो सफलता ठानिएको छ ।

अफगान राष्ट्रपति अश्रफ घानी केही दिनअघि मात्रै मजार–ए–शरीफ शहरको भ्रमणमा गएका थिए । उनी सरकारी सुरक्षा बलको मनोबल बढाउनका लागि त्यहाँ गएका थिए ।

तालिबानी लडाकुहरुले अफगानिस्तानको आधाभन्दा बढी प्रान्तीय राजधानीमा कब्जा जमाएका छन् । उनीहरु अब राजधानी काबुलभन्दा ११ किलोमिटरमात्रै टाढा रहेको समाचार एजेन्सी एपीले जनाएको छ ।
अफगानिस्तानका एक स्थानीय प्रशासकले समाचार एजेन्सी एपीलाई भनेका छन्- ‘तालिबान लडाकु अब केबल ११ किलोमिटर मात्रै टाढा छन् ।’ यद्यपि सरकारको तर्फबाट भने यसको पुष्टि भएको छैन ।

बाल्ख प्रान्तको राजधानी मजार–ए–शरीफ अफगानिस्तानको चौथो ठूलो शहर हो । सो शहर अधिकांश रुपमा बिना युद्ध तालिबानले कब्जा गरेको स्थानीय अधिकारीहरुले बताएका छन् ।

अफगान आर्मीले पहिलो आत्मसमर्पण गरेको र त्यसपछि मात्रै सरकार पक्षधर सुरक्षा बल तथा सैन्य समूहले हात उठाएको बाल्कबाट प्रतिनिधित्व गर्ने सांसद अबास इब्राहिमजादाले एसोसिएटेड प्रेसलाई बताएका छन् ।

उज्वेकिस्तान र ताजिकिस्तानको सीमा नजिक रहेको मजार–ए–शरीफ प्रमुख आर्थिक केन्द्र हो । तालिबानले यो भन्दा पहिले सन् १९९० को दशकमा सो शहरमा नियन्त्रण कायम गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार