
अफगानिस्तानमा तालिबान लडाकुहरूले राजधानी काबुल बाहेक सबैं प्रान्तहरु कब्जा गरेको विद्रोहीहरुले दाबी गरेका छन् ।
आइतबार बिहानैं मात्र लडाकुहरूले पूर्वी सहर जलालाबादमाथि नियन्त्रण कायम गरेका छन्।
योसँगै सरकारको नियन्त्रणमा रहेको एक मात्र प्रमुख सहरको रूपमा राजधानी काबुल रहेको छ।
अर्को महत्त्वपूर्ण उत्तरी सहर मजार(ए(शरिफमाथि कब्जा जमाएको भोलिपल्ट लडाकुहरूले पछिल्लो सफलता हासिल गरेका हुन्।
तालिबान लडाकुहरूले एउटा पनि गोली नचलाई जलालाबादलाई आइतवार बिहान नियन्त्रणमा लिइएको विवरणहरूमा जनाइएको छ।
‘जलालाबादमा अहिले कुनै भिडन्त भइरहेको छैन किनकि यहाँका गर्भनरले तालिबान समक्ष आत्मसमर्पण गरेका छन्’, त्यहाँस्थित एक अफगान अधिकारीले समाचार संस्था रोयटर्सलाई भने।
‘तालिबानलाई अगाडि बढ्न दिनका लागि मार्ग प्रशस्त गर्नु नै नागरिकको ज्यान बचाउने एक मात्र बाटो थियो।’
जलालाबादमाथि तालिबानले कब्जा गर्नु भनेको छिमेकी मुलुक पाकिस्तानसँग जोडिएका सडक सञ्जालमा पहुँच सुनिश्चित गर्नु हो।
यससँगै अफगानिस्तानका कुल ३४ वटा प्रान्तीय राजधानीमध्ये २३ वटा तालिबान लडाकु समूहको नियन्त्रणमा पुगेका छन्।
बीबीसी







