
विद्रोही समूह तालिवान अफगानिस्तानको राजधानी काबुल प्रवेश गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकाले आफ्ना नागरिकलाई उद्धार गरेसँगै आइतबार तालिबानी लडाकुहरू काबुल प्रवेश गरेका हुन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार जलालबादलाई नियन्त्रणमा लिएको केही घण्टामै तालिबानी समूह काबुल प्रवेश गरेको हो ।
चारैतिरबाट तालिबानी लडाकुहरू केन्द्रतर्फ आइरहेका छन्,” अफगानिस्तानको गृहमन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ ।
तर, तालिबानी समूहका प्रवक्ता सुहाइल शहीनले भने आफ्ना लडाकुहरूलाई सहरमा प्रवेश नगर्न निर्देशन दिइएको बताएका छन् । उनका अनुसार तालिबानी लडाकुहरू अर्को आदेश नभएसम्म काबुल प्रवेश गर्ने नाकामै रहनेछन् ।
समाचार संस्था एपीले तालिबानी लडाकुहरू आफगान सरकारबाट ‘शान्तिपूर्ण सत्ता हस्तान्तरण’को प्रतीक्षामा रहेको उल्लेख गरेको छ । तालिबानी समूहका प्रवक्ता सुहाइल रहीनले अल्जजिरासँगको कुराकानीका क्रममा अफगान सरकारले काबुललाई शान्तिपूर्ण तरिकाले आफूहरूलाई हस्तान्तरण गर्ने समयको प्रतीक्षा गरिरहेको बताएको एपीले उल्लेख गरेको छ ।
यसैबीच अफगानिस्तानका गृहमन्त्री अब्दुल सत्तार मिर्जाक्वानले संक्रमणकालीन सरकारको लागि शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण हुने बताएका छन् । तालिबानले आफ्ना लडाकूलाई काबुलको गेटमा नै रोकेको वक्तव्य जारी गरेसँगै गृहमन्त्री मिर्जाक्जवालले यस्तो बताएका हुन् ।
‘अफगानी जनताले चिन्ता लिनुपर्दैन, शहरमा कुनै आक्रमण हुने छैन र संक्रमणकालीन सरकारलाई शान्तिपूर्ण रुपमा शक्ति हस्तान्तरण हुनेछ,’ रेकर्डेड भाषणमा उनले भनेका छन् ।







