नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको विचारलाई आत्मसमीक्षासहित क्रान्तिकारी रुपान्तरण नगरे विसर्जन र विघटनको खतरा रहेको बताएका छन् ।

मंगलबार सहिद रामबृक्ष यादवको २७ औं स्मृति दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले शान्ति सम्झौता वा संघीय लोकतान्त्रिक गणतन्त्रपछि माओवादीको क्रान्तिकारी चरित्र र संस्कार उल्टो बनेको स्वीकार गरे ।

‘शान्ति सम्झौता वा संघीय लोकतान्त्रिक गणतन्त्रपछि हामी आफ्नै क्रान्तिकारी चरित्र र संस्कारको (त्याग, तपस्या र बलिदान गर्ने ) भावना त्यस्तो छैन । बरु उल्टो छ’ प्रचण्डको भनाइ छ ।

त्यस्तो आत्मसमीक्षा गर्दै संकल्प गरेर त्यस दिशामा जान सके अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलनमा समेत योगदान हुने प्रचण्डको दावी छ । ‘देशको समग्र राजनीतिक नेतृत्व लिनलाई हामी आफैले आत्मसमीक्षा र नयाँ संकल्प गर्ने र नयाँ प्रतिबद्धता व्यक्त गर्नैपर्छ’ प्रचण्डले भने, ‘केन्द्रीय समितिमा जोड गर्न खोजेको पनि त्यहीँ हो, त्यसले नयाँ उर्जा पनि प्रदान गरेको छ । तर त्यतिले पुग्दैन ।’ राष्ट्रिय सम्मेलन र महाधिवेशनसम्म गएर विचार, सिद्धान्त र व्यवहारलाई अझ क्रान्तिकारी बनाउँदै लैजान सकिने प्रचण्डको भनाइ छ ।

‘हामीले विचारलाई राम्रो गर्न सक्दा नेपालको कम्युनिस्ट र राजनीतिक आन्दोलन मात्र होइन, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई पनि ठुलो योगदान गर्न सक्ने सम्भावना हाम्रो पार्टीसँग छ । तर त्यसो गर्न सकिएन भने विसर्जन र विघटन र भूमरीमा पर्नसक्ने खतरा छ । त्यसो गर्न दिदैनौँ’ प्रचण्डले प्रतिबद्धता जनाए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार