विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले भारतको प्रमुख कोभिड खोप कोभिशील्डको नक्कली संस्करण भेटेको बताएको छ।

ती नक्कली खोपहरू भारत र अफ्रिकामा जुलाई र अगस्ट बीचमा अधिकारीहरूले बरामद गरेको डब्ल्यूएचओले एउटा विज्ञप्तिमा उल्लेख गरेको छ।

कोभिशील्ड निर्माता सेरमले पनि ती खोपहरू नक्कली भएको पुष्टि गरेको विज्ञप्तिमा उल्लेख छ।

डब्ल्यूएचओले नक्कली खोपले “विश्व जनस्वास्थ्यलाई गम्भीर जोखिममा पार्ने” चेतावनी दिएको छ।

सङ्गठनले त्यस्ता खोपलाई वितरणबाट हटाउन भनेको छ।

भारतीय सरकारले यसबारे ‌औपचारिक धारणा राखेको छैन। तर स्थानीय पत्रपत्रिकाका अनुसार स्वास्थ्य मन्त्रालयले यसबारे अनुसन्धान गरिरहेको छ।

“हामीसँग यस्तो घटना रोक्न प्रभावशाली संयन्त्र भए पनि यो घटनापछि हामीले चाहेको कुरा भनेको कुनै पनि भारतीय नागरिकले नक्कली खोप नपाउन् भन्ने हो,” मिन्ट वेबसाइटले एक स्वास्थ्य अधिकारीलाई उद्धृत गरेको छ।

कोभिशील्ड भारतमा उत्पादन हुने आस्ट्राजेनेका खोप हो र अहिलेसम्म भारतमा यसको साढे ४८ करोड मात्रा लगाइएको छ।

सेरमले नेपालसहित एशिया, अफ्रिका र दक्षिण अमेरिकाका देशहरूमा कोभ्याक्स वा सरकारसँगको सम्झौता अन्तर्गत यो खोप निर्यात गरेको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीको खोप कूटनीतिअनुरूप भारतले छिमेकी देशहरूलाई पनि यो खोप दिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार