
अमेरिका समर्थित सरकार ढलेपछि यसै साता काबुलमा देश छाडेर भाग्न चाहने हतास अफगानी नागरिकहरुको भयावह तस्बिर सार्वजनिक भए। ती तस्बिरले विश्व इतिहासमा एउटा ठूलो मोड आइपुगेको संकेत गर्छन्, अमेरिका विश्वबाट पछि हटिरहँदा। यथार्थ त के हो भने अमेरिकी युगको अन्त्य धेरैपहिले भइसकेको थियो।
अमेरिकाको कमजोरी र पतनको दीर्घकालीन स्रोत अन्तर्राष्ट्रियभन्दा स्वदेशमै बढी छ। अमेरिका अझै थुप्रै वर्ष महाशक्तिका रुपमा कायम रहनेछ। तर, ऊ कति प्रभावशाली रहनेछ भन्ने कुरा उसको विदेशनीतिमा भन्दा आन्तरिक समस्या समाधान गर्ने अमेरिकाको क्षमतामा बढी निर्भर रहन्छ।
अमेरिकी प्रभुत्वको चरम अवधि २० वर्ष पनि टिकेन। १९८९ मा बर्लिनको पर्खाल ढलेदेखि २००७–०९ को वित्तीय संकटसम्मलाई अमेरिकी आधिपत्यको अवधि मान्न सकिन्छ। त्यसबेला सैन्य, आर्थिक, राजनीतिक र सांस्कृतिक थुप्रै क्षेत्रमा अमेरिका हावी थियो। अमेरिकी अभिमानको चरम विन्दु थियो २००३ को इराक आक्रमण। त्यसबेला अफगानिस्तान (दुई वर्षअघि आक्रमण गरेको) र इराक मात्र होइन, सम्पूर्ण मध्यपूर्वलाई नै पुनर्निर्माण गर्ने अपेक्षा अमेरिकाले राखेको थियो।
सैन्य शक्तिकै भरमा आधारभूत राजनीतिक परिवर्तन ल्याउन सकिन्छ भन्ने अमेरिकाले ठान्यो। जबकि उसले विश्वव्यापी अर्थतन्त्रमा आफ्नो खुलाबजार मोडेलको प्रभावलाई भने कम आक्यो।
अमेरिकी सेना दुई वटा आतंकवादविरोधी युद्धमा फसेसँगै त्यो दशकको अन्त्य भयो। अर्कोतिर, अन्तर्राष्ट्रिय आर्थिक संकटका कारण अमेरिका नेतृत्वको विश्वव्यापीकरणले ल्याएको विशाल असमानतालाई अझ स्पष्ट पारिदियो।
त्यो अवधिमा विश्वमा जुन किसिमको एकध्रुवीयता देखियो, त्यो इतिहासमै दुर्लभ छ। त्यसयता विश्व बहुध्रुवीयताको सामान्य स्थितितिर फर्किंदै छ। अमेरिकाको तुलनामा चीन, रुस, भारत, युरोप र अन्य मुलुकहरु शक्तिशाली हुँदै गएका छन्।
भूराजनीतिमाथि अफगानिस्तानको अन्तिम प्रभाव सानो मात्रै हुनेछ। यसअघि १९७५ मा भियतनामबाट फर्किंदा यस्तै अपमानपूर्ण पराजयबाट ब्युँतिन अमेरिका सफल भएको थियो। त्यसको एक दशक नबित्दै अमेरिकाले आफ्नो प्रभुत्व उसैगरी स्थापित गरेको थियो। अहिले आएर चीनको विस्तारलाई रोक्न अमेरिका भियतनामसँग मिलेर काम गर्दैछ। अमेरिकालाई अझै पनि थुप्रै आर्थिक र सांस्कृतिक लाभ छ, जसको तुलना अन्य मुलुकसँग हुन सक्दैन।

अमेरिकाको वैश्विक हैसियतमाथि सबैभन्दा ठूलो चुनौती घरमै छ। अमेरिकी समाज गहिरोगरी विभाजित छ। कुनै पनि विषयमा आम सहमति कायम गर्न निकै कठिन छ। कर तथा गर्भपतनजस्ता सामान्य नीतिका विषयमा यो ध्रुवीकरण सुरु भएको थियो। तर, त्यसपछि यो सांस्कृतिक पहिचानमाथिको अत्यन्त तिक्त लडाइँमा विकसित भयो। सम्भ्रान्तहरुले आफूलाई सीमान्तकृत तुल्याएको महसुस गर्ने समूहहरुको पहिचानको मागलाई ३० वर्षअघि नै मैले आधुनिक लोकतन्त्रको सबैभन्दा कमजोर विन्दुका रुपमा उल्लेख गरेको थिएँ।
सामान्यतयाः विश्वव्यापी महामारीजस्तो ठूलो बाहिरी खतरा आइपर्दा त्योसँग लड्न नागरिकहरु एकै ठाउँ उभिनुपर्ने हो। तर, कोभिड–१९ महामारीले अमेरिकाको विभाजनलाई झनै गहिर्यायो। सामाजिक दुरी, मास्क र अहिले खोपलाई जनस्वास्थ्यका मापदण्डका रुपमा होइन, राजनीतिक निशानीका रुपमा हेरिँदैछ।
यो द्वन्द्व जीवनको हरेक आयाममा फैलिएको छ। खेलकुददेखि उपभोग्य वस्तुको ब्रान्डसम्म रिपब्लिकन र डेमोक्र्याटको रोजाइ अलग छ। ‘सिभिल राइट मुभमेन्ट’ पछि नागरिकहरुले अमेरिकाको बहुजातीय लोकतन्त्रमा गर्व गर्ने गर्थे। तर, अहिले त्यसको ठाउँ अमेरिका दासप्रथामाथि स्थापना भएको हो कि स्वतन्त्रताको लडाइँको परिणामस्वरुप जन्मेको हो भन्ने विवादले लिएको छ।
यो द्वन्द्वको फलस्वरुप हरेक पक्षका लागि सत्य अलगअलग बन्न पुगेको छ। जसका कारण एक पक्षका लागि नोभेम्बर २०२० को राष्ट्रपतीय निर्वाचन इतिहासकै निष्पक्ष रह्यो भने अर्को पक्षका लागि भयंकर धाँधलीयुक्त।
शीतयुद्धभरि र २००० को दशकको सुरुवातमा विश्व राजनीतिमा अमेरिकाले नेतृत्व गर्नुपर्छ भन्नेमा अमेरिकी सम्भ्रान्तहरु एकमत थिए। तर, अफगानिस्तान र इराकको अन्त्यहीन युद्धका कारण थुप्रै अमेरिकीको धैर्यको बाँध टुट्यो। त्यसपछि उनीहरु मध्यपूर्वजस्तो कठिन स्थानमा मात्र होइन, अन्यत्र पनि अमेरिकाको सहभागिताबाट रुष्ट हुन थाले।
फ्रान्सिस फुकुयामा चर्चित बुक The End of History and the Last Manका लेखक हुन् । यो यो विचार ‘द इकोनोमिस्ट’बाट नेपालखबरले अनुवाद गरेको सानो अंश ।







