
नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले अब विस्तार हुने मन्त्रिपरिषद्मा गठबन्धन दलको बराबरी हैसियतमा प्रतिनिधित्व हुने बताएका छन् ।
गठबन्धनका पाँच दलमध्ये राष्ट्रिय जनमोर्चा सरकारमा सहभागी नहुने र कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र माधव नेपालको पार्टीबीच ६–६ मन्त्रालयको भागबन्डा हुने मोटामोटी सहमति भएको उनको दाबी छ ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि आज बिहान पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिँदै नेता पौडेलले यस्तो बताएका हुन् ।
“अहिले फरक परिस्थितिमा सरकार बनेकाले सदनको प्रतिनिधित्वभन्दा पनि सम्मानजनक प्रतिनिधित्वको कुरा उठेको छ । संविधानअनुसार २५ भन्दा बढी मन्त्री बनाउन पाइँदैन । मन्त्रालय २१ वटा मात्र छन्, चार जनालाई राज्यमन्त्री बनाउनुपर्छ । त्यसैले बराबरी हैसियतमा ६–६ मन्त्रीको प्रतिनिधित्व गर्ने अनौपचारिक कुराकानी भएको छ । अब यस सरकारको आयु डेढ वर्ष मात्र छ । सरकारको आयु छोटो छ, चुनौती बढी छ । अब मिलेर जाँदा नै संविधान र प्रणालीको रक्षा हुन्छ । यसरी नै प्रदेशको सरकार पनि चलाउनुपर्ने हुछ ।”







