
माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) अब औपचारिक रुपमा सरकारमा सामेल हुने भएको छ।
स्रोतका अनुसार, शुक्रबारसम्म नेपाल पक्षले सरकारमा जानेहरुको नाम टुंगो लगाउने छ । अब एमालेको माधवपक्षीय सांसदहरु नेकपा (एकीकृत समाजवादी) को सांसदका हैसियतमा सरकारमा जाने भएका छन् ।
एकीकृत समाजवादीका तर्फबाट सरकारमा जाने मन्त्री, उपसभामुखदेखि विभिन्न संसदीय जिम्मेवारीमा जाने सांसदहरु सबैजसो नयाँ अनुहारका हुने भएका छन् । देउवा सरकारमा उक्त पार्टीले ६ मन्त्री पाउने निश्चित भएको छ ।
पटक–पटक जनताबाट निर्वाचित भएर पनि गुटका आधारमा मूल्यांकन नहुने परिपाटीले हालसम्म मन्त्री हुन नपाएका सांसददेखि नयाँ पुस्तासम्मका अनुहार सरकारमा देखिने भएको एकीकृत समाजवादीस्रोतले जनाएको छ ।नामबारे अन्तिम निर्णय गर्ने जिम्मा पार्टी संयोजक माधव नेपाललाई दिइएको स्रोतले जनाएको छ ।
हालसम्म मन्त्रीका रुपमा चर्चामा आएका नाममध्ये विरोध खतिवडा, जीवनराम श्रेष्ठ, डा.खिमलाल देवकोटा, मेटमणि चौधरी, यज्ञराज सुनुवार, किसान श्रेष्ठ, रामकुमारी झाँक्री वा निरादेवी जैरु अग्रपंक्तिमा छन् ।
सरकारमा जाने वा संसदीय जिम्मेवारीमा जानेबारेमा सोमबारदेखि पार्टी संयोजक नेपालले सांसदहरुसँग सोधखोज गर्न थालेका छन् । त्यसमध्ये अधिकांशले मन्त्री हुने इच्छा दर्शाएको स्रोतले जनाएको छ ।
सरकार विस्तारमा पार्टीले ६ मन्त्रालयमात्रै पाएका कारण एकीकृत समाजवादीले १७ महिनाभित्रमा २५ सांसदले मन्त्री र संसदीय जिम्मेवारी पाउने गरी योजना बनाएको छ ।







