
सही हो कि गलत हो ? माओवादी केन्द्रको हालै बसेको बैठकले मलाई प्राध्यापक संघ सम्बद्ध जनसंगठनको जिम्मेवारी दिएको कुरा बाहिर आएको छ । यदि यो साँचो हो भने एउटा अर्को बिचित्रता भएको छ ।
पार्टीको गैरक्रान्तिकारी र गैरमालेमावादी विचार, नीति, विधी तथा नेतृत्वका अन्यायपूर्ण र अपमानजनक आचरण-व्यवहारसँग मेरा कैयौं असहमति छन् । यो अवस्थामा मैले कुनै बैठक पनि एटेण्ड गरिरहेको छैन र यी विषयहरु समावेस भएका १५ बुँदा मैले गत पुषको बैठकको क्रममा सार्वजनिक समेत गरिसकेको छु । यी गम्भीर सैद्धान्तिक, राजनीतिक, सांगठनिक र सांस्कृतिक विषयहरुको सम्बोधन नभएसम्म म बैठकमा आउँदिन भनी स्वयं अध्यक्षलाई फोनमा भनी छोडिसकेको अवस्थामा तत्पश्चात कुनै छलफल, संवाद, सल्लाह र सन्देश पनि भएको र आएको छैन ।
अहिले सर्वोच्च अदालतले नै माओवादी केन्द्रको पुरानै कमिटी, सदस्य, स्वरुप र संरचना पुनर्स्थापित गरिदिएको अवस्थामा पनि आफ्नो स्वार्थलाई मध्यनजर गरेर मनोमानी तरिकाले स्थायी समिति बनाएर मलाई केन्द्रीय कार्यालयको सदस्यबाट केन्द्रीय समितिको सदस्यमा अपमानजनक तरिकाले झारी पुरानै जिम्मेवारी दिनु अनौठो विडम्बना भएको छ ।
आज पार्टीमा क्रान्तिकारिता, सिद्धान्तनिष्ठता, स्वच्छता, सदाचारिता, त्याग, तपस्या, बलिदान, समर्पण, स्वविवेक, स्वाभिमान र आलोचनात्मक चेतको कुनै अर्थ नभैरहेको र यसमा सुधार, शुद्धीकरण, रुपान्तरण आदि केही कत्ति पनि हुने सम्भावना नदेखिइरहेको यो अवस्थामा यी समग्र पक्षमा मेरो असहमति र विरोध समेत रहेको पुन: सार्वजनिक गर्न चाहन्छु ।
माओवादी जनयुद्ध शुरु हुँदा १९ जना केन्द्रीय समिति सदस्यमध्ये एक नेता नारायण शर्मा लामो समय माओवादी आन्दोलनको नेतृत्वदायी अवस्थामा रहे पनि हाल कुनैं पार्टीमा सम्वद्ध छैनन् । यो उनको फेसबुकमा सार्वजनिक नीजि विचारको अंश हो ।







