नेकपा एमालेका नेता सूर्य थापाले सभामुख अग्निप्रसाद सापकोटा माओवादी केन्द्रको छापामार या गुरिल्लाजस्तो भूमिकामा देखिएको आरोप लगाएका छन् । १४ जना सांसदलाई हटाउने एमालेको निर्णय कार्यान्वयन नगरेकाले सभामुख सापकोटाको पदीय आचरण र न्यूनतम योग्यतामा प्रश्न उठेको बताए ।

आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिँदै नेता थापाले भने –

“नेकपा एमालेले साउन २५ को निर्णय भनीकन भदौ १ गते माधवकुमार नेपाललगायत १४ जना सांसदलाई पदमुक्त गर्न सभामुख अग्निप्रसाद सापकोटालाई पत्र पठाएको थियो । सभामुख सापकोटाले आजसम्म त्यसको कार्यान्वयन गर्नुभएन । उहाँले सभामुखभन्दा पनि नेकपा माओवादी केन्द्रको छापामार या गुरिल्लाको भूमिका खेल्नुभयो । टोपबहादुर रायमाझी, गौरीशंकर चौधरीलगायतको हकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पत्र पुग्ने बित्तिकै संसद्मा सुनाउनुभयो । तर एमालेको हकमा त्यसो गर्नुभएन । उहाँ रामचन्द्र पौडेलले २०५४ मा एमाले फुटाउन खेलेको भूमिकामा देखिनुभयो। अब हामी कानुनीलगायत सबै खालको उपाय अपनाएर उहाँको धरातल देखाइदिन्छौं ।”

कार्यक्रममा उनले सभामुखलाई प्रचण्डको चौवन्नी कार्यकर्ता र राजनीतिक ठग भन्न पनि बाँकी राखेनन् ।

उनले थपे, “अग्नि सापकोटाले आफूलाई न्यायाधीश ठान्नुहुन्न । संसद्मा विचाराधीन छ भनेर लोकाचार गर्ने होइन । यो उहाँका निम्ति विचाराधीन नै विषय होइन । सचिवालयका तर्फबाट तत्काल सूचना टाँस गर्नुपर्थ्र्यो । अहिले त उहाँ दाँत दुख्यो भनेर बेपत्ता हुनुभएको छ । उहाँ के डामेर छाडेको साँढे हो ? के टुँडिखेलमा खरिको बोटमुनि उभिन सक्नुहुन्छ ? उहाँ नालायक पात्र ठहरिनुभएको छ ।”

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार