
ए कम्युनिस्टहरु !
ए कम्युनिस्ट जस्तै देखिनेहरु
ए आफुलाई कम्युनिस्ट भन्न रुचाउनेहरु
अलिकति इमानदार बनिदेउ
नेपालमा समाजबाद आउँछ
ल्याउन सकिन्छ ।
बारुद बोक्नपरे हामी बोकौंला
बङ्कर खन्नुपरे हामी खनौंला
मोर्चाहरुमा अगाडि हामी नै जाउँला
बस तिमिहरु बसेर मुन्टो हलाइदेउ
उठेर मुठ्ठी उठाइदेउ
भनिदेउ
समाजवाद जिन्दावाद
नेपालमा समाजवाद आउँछ ।
तिम्रा जहानका सिँउदोहरु पुछिने छैनन्
तिम्रो लालाबालाहरु टुहुरो हुनेछैनन्
बलिदानको कोटा पूरा हामी गरौंला
बस तिमी कम्युन घर अघिल्तिर आएर
लालसलाम ठोकिदेउ
ए कम्युनिस्टहरु
कम्युनिस्ट जस्तै देखिनेहरु
कम्युनिस्ट बन्न रुचाउनेहरु
एकपटक सहास गरिदेउ
नेपालमा समाजबाद आउँछ।
पुँजीवादको नाडी हामीले छामेका छौं
कसैलाई घोक्रेठ्याक लगाउनपरे हामी लगाउँला
तिम्रा घरका भित्ताहरुमा पक्राउपुर्जी टासिनेछैनन्
फलामे साङ्लोहरुमा बेरिनुपरे हामी बेरिउला
तिमीमाथि कुनै मुद्दा लाग्नेछैनन्
ए कम्युनिस्टहरु
एकपटक बुद्धिमान बनिदेउ
नेपालमा समाजवाद आउँछ ।
डोर्याउदै कोही निर्बाचन आयोग नजाउ
भन्किदै कोही बालकोट नजाउ
र्याल चुहाउदै कोही बुढानिलकण्ठ नधाउ
जानेभए एकपटक कपिलवस्तुको शिबगढी जाउ
वैंज्ञानिक समाजवादबारे बहस गर
नेपालमा समाजवाद जसै ल्याउनुछ
ए कम्युनिस्टहरु
एकपटक इमानदार बन
नेपालमा समाजवाद आउँछ ।
बीपी विद्रोही २०७८र०५र०९







