माओवादी केन्द्रले हालै स्थायी समिति बैठकद्वारा पारित गरेको प्रस्तावमा एमाले अध्यक्ष केपी ओलीलाई दक्षिणपन्थी करार गर्दै आफ्नो पार्टीले क्रान्तिकारी धारको नेतृत्व गर्ने दाबी गरेको छ ।

‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राजनीतिक विरासत दक्षिणपन्थीहरुले  बोक्न सक्दैनन्’, माओवादी केन्द्रले भनेको छ, ‘मूलतः आफ्नै शक्तिमा भर पर्दै क्रान्तिकारी पार्टी निर्माण गर्ने र विचार मिल्ने वामपन्थी शक्तिहरूसँग सहकार्य, मोर्चाबन्दी र ध्रुवीकरण गर्दै नेकपाको विरासत र स्वामित्व समेत हाम्रो पार्टीले लिनुपर्दछ ।’

सँगसँगै माओवादीले ओलीको प्रतिगमनका बिरुद्ध संघर्षकै क्रममा वाम लोकतान्त्रिक गठबन्धन निर्माण भएको भन्दै गठबन्धनलाई कमजोर बनाउने प्रयास भइरहेको माओवादी केन्द्रको विश्लेषण छ ।

मालेमावादको रक्षा, प्रयोग र विकास गर्दै समाजवाद निर्माणको दिशामा बढ्न सक्ने पार्टी निर्माण गर्नु अहिलेको आवश्यकता भएको माओवादी केन्द्रको ठहर छ ।

‘विधी र प्रणाली व्यवस्थित नबनाइकन पार्टीले आफ्नो लक्ष्य प्राप्त गर्न सक्दैन् । परिमार्जित विधानले उक्त आवश्यकतालाई सम्बोधन गर्ने नै छ’, माओवादी केन्द्रले भनेको छ ।

नयाँ सन्दर्भमा पार्टीको विचार, राजनीतिक कार्यदिशा, संगठनात्मक संरचना र विभिन्न तहको नेतृत्व निर्माणका लागी राष्ट्रिय सम्मेलनको आयोजना गरिएको माओवादीको भनाइ छ । जसअनुसार माओवादीले पुस ११ गतेदेखि राष्ट्रिय सम्मेलन गर्ने गरी ३ महिने अभियान घोषणा गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार