
माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) मा उत्पन्न विवादका कारण अध्यक्ष चयन गर्न नसकेपछि अब अध्यक्ष प्रचण्डले आफ्नो खल्तीबाट चयन गर्ने भएका छन् ।
वाईसीएलको काठमाडौं जारी राष्ट्रिय भेलाले सहमतिमा नेतृत्व चयन गर्न नसकेपछि अध्यक्ष चयन गर्ने जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिएको हो ।
माओवादी केन्द्रका एक नेताका अनुसार पार्टीमा तीव्र विवादले अध्यक्ष चयन गर्न नसकेपछि पार्टी अध्यक्षले त्यो चयन गर्ने जिम्मा लिएका छन् । उनले भने, ‘वाइसीएल अध्यक्षका सन्दर्भमा सरसल्लाह गरेर अध्यक्षले टुङ्गो लगाउने भन्ने भएको छ ।’
भदौ १२ गते शनिबार शुरु भएको वाईसीएलको राष्ट्रिय भेलामा अध्यक्ष पदका लागि हालका उपाध्यक्ष सुमन देवकोटा र महासचिव सुवोधराज शेर्पाली दावी गरेका छन् ।
वाइसिएलमा अध्यक्षका दाबी गर्ने सुवोध शेर्पाली जनार्दन शर्माका निकट मानिन्छन् भने अर्का दाबेदार सुमन देवकोटा प्रचण्ड निकट छन् ।
अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले अध्यक्ष पद छोडेपछि दुई नेताले दाबी गर्दा प्रचण्डले अब आफ्नैं तरिकाले चयन गर्ने भएका छन् ।







