
नेपालमा रोजगारीका अवसर नपाएपछि दैनिकरुपमा ठूलो संख्यामा बेरोजगार युवायुवतीहरु त्रिनगर नाका भएर भारत पलायन हुन थालेका छन् ।
धनगढीस्थित त्रिनगर भन्सार र कञ्चनपुरको गड्डाचौकी नाकासँगै त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट दैनिक हजारौँका संख्यामा नेपाली युवायुवती रोजगारीका लासग भारतलगायत खाडी मुलुकमा जाने गरेका छन् ।
नेपालमा रोजगारीका अवसर नभएपछि बाध्य भएर उनीहरु कामको खोजीमा भारतसँगै खाडी मुलुकमा जाने गरेका छन् । भारतसँगै खाडी मुलुकमा जाने युवायुवती सरकारप्रति उदासिन देखिन्छन् । उनीहरु भन्छन्, ‘युवा त्यो हो, जोसँग सुदुढ सपना र त्यसलाई पूरा गर्ने साहस छ । तर, के गर्ने देश विकासका कर्णधार हामी पलायन हुन बाध्य छौँ । हाम्रा लागि सरकारले कुनै पनि अवसर प्रदान गर्न सकेन र भएका अवसरहरु पनि खोस्दै गयो ।’
पछिल्लो समय सुदूरपश्चिमका युवायुवतीसँगै बृद्धबृद्धासमेत सपरिवार कामको खोजीमा भारततर्फ जान थालेका छन् । उनीहरु भन्छन्, ‘हाम्रो देशमा तीन वटा सरकार छ । तर, हामीलाई सरकार भएको महसुस भएको छैन ।’
कैलालीको चुरे गाउँपालिका वडा नम्बर १ का यम बमले भने, ‘मैले स्नातक गरेको छु । मेरो लागि नेपालमा कुनै पनि रोजगारी मिलेन । हातमा योग्यताको प्रमाण पत्र बोकेर रोजगारीका लागि निकै डौलिएँ । तर, रोजगारी मिलेन । अहिले बाध्य भएर युरोप जाने तयारी गरेको छु । त्यसका लागि भारतको दिल्ली जाँदैछु ।’ उनले सरकारप्रति उदासिन रहेको बताउँदै युवालाई सरकारले रोक्न नसकेको बताए ।







