
तत्कालीन नेकपा एमालेका उपाध्यक्ष समेत रहेका वामदेव गौतमलाई निशर्त आफ्नो पार्टीमा आउन माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले समयसीमा दिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मात्रै नभई व्यूँतिएको एमालेमै पनि अध्यक्ष केपी शर्मा ओलीसँगको सम्बन्ध सुधार गर्न असफल गौतम भावी राजनीतिक गन्तव्यलाई लिएर तनावमा परेको उनी निकट एक केन्द्रीय तहका नेताले बताए।
‘उहाँ (गौतम) निःशर्त रुपले आउनुभयो भने स्वागत गर्छौँ। तर त्यस्ता कतिपय स्वार्थपूर्ण कुरा गर्नु भयो भने गाह्रो हुन्छ। यो शर्त अव्यवहारिक सिद्ध भइसक्यो। यस्तो शर्त राख्ने हो भने उहाँले आफ्नै पार्टी बनाए के फरक पर्छ र?’, नेपाल निकट एक स्थायी कमिटी सदस्यले भने ।
ती नेताका अनुसार गौतमले आफूलाई सहअध्यक्ष दिए समाजवादी पार्टीमा आउने शर्त भदौ ९ यता पनि राखेका छन्। नेपालले केही सीप नलागेपछि दिल्लीमा उपचारार्थ वरिष्ठ नेता झलनाथ खनाल आएपछि त्यसबारे सल्लाह गरेर निधो दिने आश्वासन पछिल्लो पटक गौतमलाई दिएका थिए।
सहअध्यक्ष बन्ने आफ्नो शर्त पूरा नगरेपछि गौतम भदौ ९ गते नेपालले नयाँ पार्टीको मान्यता लिने बेला निर्वाचन आयोग उनुपस्थित भए। खनाल मिर्गौला प्रत्यारोपण गरी सोमबार स्वदेश फर्किसकेका छन्।
यसबारे जिज्ञासा राख्दा खनालले पनि घुमाउरो रुपमा गौतमको प्रस्ताव जायज नभएको संकेत गरे। यसबारे पार्टीमा सल्लाह हुन बाँकी रहेको खनालले सुनाए।







