
दार्चुलाका जयसिंह धामी बेपत्ता प्रकरणबारे छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ ।
मंगलबार साँझ गृहमन्त्रालयमा समितिका संयोजक सहसचिव जनार्दन गौतमले एक महिना लामो समय लगाएर तयार पारिएको प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाएका हुन् ।
छानबिन समितिले प्रतिवेदन बुझाएपछि गृहमन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘समितिले उक्त घटना भारतीय एसएबीका सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएकाले निजहरुको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषीउपर कानुनी कारबाही गर्न र जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न साथै आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालनपोषण र शिक्षादीक्षाको व्यवस्थापन गर्न सिफारिस गरेको छ ।’
महाकाली नदी तर्न लाग्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन खुस्काएको स्थानीयले बताउँदै आएका थिए भने समितिले पनि भारतीय पक्षको संलग्नता ठहर गरेको हो ।
ब्यास गाउँपालिका–२ का जयसिंह धामी बेपत्ता भएको घटना छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको थियो । गृह मन्त्रालयका सह–सचिव जनार्दन गौतम नेतृत्वको समितिले स्थलगत अनुगमन, पीडित परिवारसँग भेटघाट र प्रत्यक्षदर्शीसँग कुरा गरेर घटना छानबिन गरेको थियो ।
छानबिन टोलीमा प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका एसएसपी सुरेशकुमार श्रेष्ठ र दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य थिए ।







