प्रदेश नम्बर–१ का मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकार गठन भएको एक सातामै अल्पमतमा परेको छ ।

नेकपा (एमाले) विभाजन भई दल रोज्न उपलब्ध गराइएको समयसीमाअगावै प्रदेशका १० सांसद नेकपा (एकीकृत समाजवादी)तर्फ खुलेपछि प्रदेश सरकार अल्पमतमा परेको हो । बुधबार १० सांसदले नेकपा (एस) रोज्दै प्रदेश निर्वाचन कार्यालय विराटनगरमा सनाखत गरेका छन् । कुल ५१ मध्ये १० जना सांसद नेकपा (एस)तिर लागेपछि अब एमालेमा ४१ सांसद छन् । बहुमत पुर्‍याउन ४७ जना सांसद चाहिन्छ ।

यही भदौ १० गते शेरधन राईले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।  सोही दिन आचार्य संसदीय दलको नेता चुनिए । लगत्तै उनको नेतृत्वमा प्रदेश सरकार गठन भएको थियो । आफ्नो मन्त्रिमण्डलमा नेपाल समूह छाडेर साथ दिन आएका लक्षुमन तिवारीलाई उद्योग, पर्यटन वन तथा वातारण र बलबहादुर साम्सोहाङलाई सामाजिक विकासमन्त्री नियुक्त गरेका थिए ।

नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्र राईले दल रोज्ने समय अझै बाँकी रहेकोले त्यो समय पूरा भएपछि मात्र नयाँ सरकार गठनको नयाँ प्रक्रिया थालनी हुने बताए । “दल रोज्ने अथवा भएकै दलमा रहने समय अझै बाँकी छ,” राईले सनाखतपछि पत्रकारहरूसँग भने, “यो समय पूरा भएपछि गठबन्धनको सरसल्लाहानुसार नै सरकार गठनको प्रक्रिया सुरु गर्नेछौँ ।”

सरकार अल्पमतमा परेको मुख्यमन्त्री आचार्यलाई पनि थाहा भइसकेकाले नैतिकताको आधारमा राजीनामा दिने भन्नेमा आफूहरू विश्वस्त रहेको उनले सुनाए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार