
सत्ता गठबन्धनका दलहरुभित्र खटपट सुरु भएको छ । उनीहरुबीच विदेशीलाई हेर्ने दृष्टिकोण र विदेशसम्बन्धलाई असर पार्ने खालका पछिल्ला कदमहरुका कारण खटपट सुरु भएको हो ।
नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी अगाडि बढाउन सक्रियता बढाएका छन् । एमसीसीका अधिकारी नेपाल भ्रमणमा आउँदै छिन् । एमसीसी पारित गर्न सहमतिका लागि देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग निकटता बढाएर छलफल थालेका छन् ।
देउवाको यो भूमिकाबाट सत्ता गठबन्धन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड झस्किएका छन् । प्रचण्ड एमसीसीसँग सहमत छैनन् । उनी यथास्थितिमा एमसीसी पारित गर्न नहुने अडानमा छन् ।
सत्ता गठबन्धनको अर्को दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विना संशोधन एमसीसी पारित गर्न नहुने अभिव्यक्ति दिइसकेका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव यसबारे मौन छन् ।
देउवाले विदेश सम्बन्धमा असर पर्ने गरी अर्को कदम चालेका छन् । उत्तरी छिमेकी चीनले चार जिल्लामा मिचेको भनिएको भूमिबारे अध्ययन गर्न नेपाल चीन सीमा विवादबारे अध्ययन समिति नै गठन गरेका छन् । समिति गठन गरेपछि चीनले सीमा मिचेको छैन भन्ने केपी शर्मा ओली नेतृत्वको सरकारको निष्कर्षलाई चुनौती बनेको छ । यसले एमाले अप्ठ्यारोमा परेको छ ।







