
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीमा सबैले मन्त्री पदको मात्र दाबी गर्ने हो भने पार्टीलाई विघटन गरिदिनु पर्ने बताएका छन्। प्रदेशका नेताहरु प्रशिक्षण दिँदै प्रचण्डले यस्तो बताएका हुन् ।
भाद्र१७ मा लुम्बिनी, १८ मा बागमती र १९ गते प्रदेश १ का केन्द्रीय सदस्य, इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवहरुलाई प्रचण्डले भर्चुअल सम्बोधन गर्दै जसलाई अवसर दियो, उसैले धोका दिएको दुखेसो पोखे। अहिले पनि पार्टीका धेरैजसो नेताहरुले मन्त्री बनाउन दबाब दिइरहेको उनको भनाइ थियो।
‘मैले आजसम्म प्रदेशका समेत गरेर सय बढीलाई मन्त्री बनाएछु,’ प्रदेश १ का नेताहरुलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘तर, मन्त्री बन्ने, जनताको पक्षमा काम नगरी ती साथीहरु मलाई नै छोडेर जानुभयो, अब फेरि मन्त्री बनाउन दबाब दिइरहने संख्या बढ्दै गएको छ।’
‘पार्टी कसैले नबनाउने, नेतृत्वलाई घुर्क्याउन माग मात्र राख्ने गर्दा त कसरी पार्टी बन्छ?’ प्रचण्डले सोधेका थिए, ‘जिम्मेवारी र अवसर हुँदा पार्टी बन्छ भनेर जिम्मेवारी दियो तर, जिम्मेवारी पुरा नगरी अन्त हिँडिदिने? यो कस्तो कार्यशैली हो? दिएर मात्र पार्टी बन्ने भए माओवादीमा अवसर पाउन बाँकी साथीहरु निकै थोरै हुनुहुन्छ।’







