
प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाले एमसीसी परियोजना जबरजस्ती नेपालमा लाद्न खोजेको भन्ने भ्रामक टिप्पणी भइरहको बताएका छन् ।
मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकमा बोल्दै पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले बाबुराम भट्टराईको सरकारबाट सुरु भएको परियोजना नेपालले मागेर मात्र अमेरिकाले दिएको बताए ।
“हामीले मागेर परियोजना आएको हो, अमेरिकाले जबरजस्ती दिएको भन्ने भ्रामक कुरा चिर्नुपर्छ,” देउवाले भने ।
उनले अमेरिकी सहयोग परियोजना एमसीसीबारेका भ्रम जनताबाट हटाउन आवश्यक रहेको बताए । बैठकमा सहभागी एक सांसदकाअनुसार देउवाले अहिले माओवादीले एमसीसी परियोजनाको विरोध गर्नुको तुक नभएको धारणा राखेका थिए ।







