
सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री प्रचण्डले सत्तारुढ गठबन्धनलाई तोड्ने षडयन्त्र भइरहेको बताएका छन्।
अध्यक्ष दाहालले एमसीसी प्रयोग गरेर सत्तारुढ गठबन्धनलाई फुटाउने षडयन्त्र देशभित्र र देश बाहिरका प्रतिक्रियावादीहरुले गरिरहेको बताएका हुन्।
सुरेश वाग्ले र भिमसेन पोखरेलको २२ औं स्मृति दिवसको अवसर पारेर बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यथास्थितिमा एमसीसी सम्झौंता पारित गर्न नसकिने अडान दोहोर्याए।
अध्यक्ष दाहालले सत्तारुढ गठबन्धनलाई बचाएर राष्ट्रलाई क्षति नहुने गरी एमसीसी सम्झौंता अघि बढाउन आफूले चाहेको पनि स्पष्ट पारे। तर अर्को वर्ग पूरै तागतका साथ यो गठबन्धनलाई कसरी तोडने भनेर लागि परेको उनको दावी छ।
अध्यक्ष दाहालले भने, ‘यो गठबन्धनलाई तोडने षडयन्त्र पनि भइराखेको छ, देशभित्र र बाहिरबाट। यो प्रतिगमनलाई परास्त गर्न बनेको गठबन्धन, हामीले गठबन्धनलाई भनेको के छ भने संविधानको रक्षा, लोकतन्त्रको रक्षा, गणतन्त्रको रक्षा र राष्ट्रको रक्षाको निम्तिको गठबन्धन भनेका छौँ। यसलाई विभाजन के गरि गर्ने रु एमसीसी प्रयोग गरेर यसलाई फुटाउन सकिन्छ कि? एमसीसी भनेर ल्याइदिएपछि चाँही भनेर एकथरी लागि राख्या छन। हामी चाहिँ यथास्थितिमा एमसीसी हुन सकिँदैन भनिरा’छौँ।







