
२९ वर्ष लामो जेल जीवन बिताइरहेका पेरुका विद्रोही नेता गोञ्जालोको ८६ वर्षको उमेरमा निधन भएको छ ।
पेरूमा तत्कालिन फुजीमोरी शासनका विरूद्ध विद्रोहका नेतृत्व गरेका गोञ्जालोको शनिबार साँझ निधन भएको हो ।
जेलमै बिरामी परेका उनलाई उपचारका लागि सैनिक अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको पेरु सरकारका अधिकारीहरुलाई उदृत गर्दै एपीले जनाएको छ ।
गोञ्जालोको निधन भएको पेरु सरकारका कानुनमन्त्री अनबल टोरेसले पुष्टि गरेका छन् । छाला क्यान्सरका बिरामी रहेका गोन्जालोलाई पेरुको नौसेना आधार इलाकामा रहेकोे कालाओ जेलको पिँजडाघरमा सेप्टेम्बर १२, १९९२ देखि बन्दी बनाएर राखिएको थियो ।
गोञ्जालो पेरु कम्युनिस्ट पार्टी (साइनिङ पाथ) का अध्यक्ष हुन् । पेरु आयाकुचो सान कृस्टोबल डि हुआमाङ्गा नेसनल युनिभर्सिटी दर्शनशास्त्रका प्राध्यापक समेत रहेका गोञ्जालोलाई फुजिमोरो सत्ताले आजीवन कारागारको सजाय सुनाइएको थियो ।
गोञ्जालोले पेरुमा सन १९८० देखि १९९९ सम्म चलेको सशस्त्र विद्रोहको नेतृत्व गरेका थिए । सोही बीचमा उनी पक्राउ परेका थिए । विश्वभरका कम्युनिष्ट पार्टीहरुले गोञ्जालोको रिहाइको माग गर्दै आएका थिए ।







