
नेकपाका महासचिव विप्लवले क्रान्ति गौरव र चुनौतीहरुले भरिएको यात्रा भएको बताएका छन् ।
महासचिव विप्लवले दुनिया बदल्न चाहने अगुवाहरुले भौतिक जीवन र सुखलाई कहिल्यै माथि राख्न नहुने बताएका छन् ।
महासचिव विप्लवले कमरेड गोन्जालोको जेलमा भएको निधन पछि एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।
सर्वहारा वर्गका इमानदार नेताको निधनले आफ्नो पार्टी र विश्वभरिका क्रान्तिकारी कम्युनिस्टहरूलाई दुःखी बनाएको महासचिव विप्लवले प्रेस विज्ञप्तीमा उल्लेख गरेका छन् ।
महासचिव विप्लवले प्रेस विज्ञप्तीमा भनेका छन्-
”हामी नेपाली क्रान्तिकारीहरूले आजको जटिल एवम् सङ्कटपूर्ण साथै सम्भावनायुक्त राष्ट्रिय राजनीतिमा कमरेड गोन्जालोबाट शिक्षा र आदर्श सिक्दै यहाँको दलाल पुँजीवादी सत्ता मिल्काउन र यसको ठाउँमा वैज्ञानिक समाजवाद स्थापना गर्न दृढतापूर्वक अगाडि बढ्नुपर्छ । हामी निश्चिन्त हुनुपर्छ– नेपाली जनताले परिवर्तन चाहेका छन् । दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थाको विकल्प खोजेका छन् । हामी निर्भीकतापूर्वक बढेमा नेपाली जनताको विजयलाई कसैले रोक्न सक्नेछ्र्रैन । महान् नेता एवम् योद्धा कमरेड गोन्जालो, यो धर्तीमा मानव जाति रहेसम्म तपाईंको विचार र आदर्श बाँचिरहनेछ । तपाईंको भौतिक जीवन नरहे पनि तपाईंले उठाएको साम्यवादको महान् झन्डा फहराइरहनेछ !’’








