सरकार बनेको दिनदेखि मन्त्रिमण्डल विस्तार नहुँदै शेरबहादुर देउवा नेतृत्वको सरकार संकटमा परेको छ ।
अहिले अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीका कारण सत्ता गठबन्धनभित्र विवाद बढाएको छ । काँग्रेस एमसीसी पारित गर्ने पक्षमा छ । नेकपा माओवादी केन्द्र र नेकपा एस संशोधनविना पारित गर्न नहुने पक्षमा छन् । जसपा पारितको पक्षमा देखिन्छ तर खुलेको छैन । एमसीसीका कारण सत्ता गठबन्धनभित्र नयाँ संकट ल्याउन सक्छ । गठबन्धन टुट्न पनि सक्छ ।
एमसीसीकै विषयमा नेत्रविक्रम चन्द विप्लवले चेतावनी दिएका छन् । उनले एमसीसी पारित गर्न खोज्नेका जीवनको ख्याल गर्न चेतावनी दिएपछि तरंग आएको छ । यो देश मुठभेडमा जानसक्ने संकेत पनि हो ।
चीनसँगको सीमा समस्याको विषय उठेको छ । सरकारले सीमा समस्या अध्ययन गर्न कमिटी बनाएको । यसप्रति सत्ता गठबन्धनभित्र असन्तुष्टिका विषय पनि आएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन अनुसार मन्त्रिपरिषदबाट निर्णय भई कमिटी गठन भई काम पनि गरिरहेको छ ।
सीमा समस्या अध्ययनका लागि गठित कमिटीप्रति एमाले अध्यक्ष केपी शर्मा ओलीले आक्रोश पोखिसकेका छन् । उनले चीनसँग कुनै सीमा समस्या नभएको जिकिर गरे । यो विषयले पनि देशभित्र दलहरुभित्र चीनलाई हेर्ने दृष्टिकोणमा ठूलो मतान्तर खुलेको छ ।
ओलीलाई हटाएर देउवाले गठबन्धनको सरकार बनाउन सफलता हासिल गरेपनि उनी चुनौतीको पहाड सामुन्न उभिएका छन् । एकातर्फ देशमा विभिन्न राजनीतिक संकटहरु बढिरहेका छन् ।
अर्कातर्फ, काँग्रेस महाधिवेशनमा होमिइरहँदा उनलाई अर्को चुनौती बढेको छ । देउवा भाग्यले सत्तामा पुग्ने गरेका छन् । तर, उनका सामु सत्तामा पुगेपछि अनेकन दुर्भाग्यशाली चुनौती थोपरिने गरेको विगत इतिहास छ । यसपटक पनि त्यही चुनौती र दुर्भाग्य दोहोरिने खतरा बढेको छ ।








