
नेकपा (माओवादी केन्द्र) मा मन्त्री छान्ने अधिकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्लाई जिम्मा दिइएको छ । बुधबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सरकारमा सहभागी हुने मन्त्री छानोट गर्ने अधिकारी प्रचण्डलाई दिइएको हो ।
माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले बुधबारको बैठकमा प्रचण्डले बिहीबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने ब्रिफिङ गर्नु भएको थियो । महराले भन्नुभयो, ‘पार्टीतर्फबाट मन्त्री छनोट गर्ने अधिकारी अध्यक्ष प्रचण्डलाई जिम्म दिइएको छ ।’
महराका अनुसार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा प्रचण्डले राजनीतिक दलसम्बन्धी अध्यादेशका कारण मन्त्रिपरिषद् विस्तारमा केही ढिलाई भएको जानकारी गराउनुभएको थियो ।
वर्तमान सरकार गठन भएको लामो समय भइसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा सरकारको काम कारबाहीमा समस्या आएको बारेमा छलफलसमेत भएको थियो ।
राजनीतिक दलसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्न बिहीबार संसद्मा प्रतिस्थापन विधेयक पेश गर्ने सरकारले तयारी गरेको प्रवक्ता महराले जानकारी दिनुभयो । बैठकले केन्द्रीय कार्यालय सचिवमा डोरप्रसाद पौडेललाई नियुक्त गरेको छ ।







