
मजदुर नगन
सुकुम्बासी नगन
मैलाधैला नाम्ले भरिया नगन
कम्युनिस्ट नगन क्रान्तिकारी नगन
मात्र चार तारे गन छ तारे गन
आइ लभ यु र विइ लभ युवालाहरु गन
भेडा गन भेडी गन
भेडिगोठालाहरु नगन
गोरु गन साँढे गन
हलि बाउसेहरु नगन
सरकार तिमी मात्र टाउको गन
हामी टाउको किन दुखिरहेछ गन्छौँ
तिमी गगनचुम्मी धुरीहरु गन
हामी सुकुम्बासी छाप्रोको प्वाल गन्छौँ
तिमी दल गन
हामी दलाल गन्छौं
भ्रस्टाचारी देश बेचुवा गन्छौं
बस्तीमा पुगेर
तिमी मुस्लिम सोध
हिन्दु सोध
क्रिश्चियन सोध
हामी भोको पेटहरुको धर्म सोध्छौं
तिमी बाहुन सोध
क्षेत्री सोध
राई लिम्बू भोटे थकाली सोध
हामी युगौँदेखि दबिएका मुटुहरुको जात सोध्छौँ
तिम्रो रैती हुन
जात चाहिन्छ
धर्म चाहिन्छ
उमेर लिङ्ग चाहिन्छ
कृपया मलाई गन्ने कोशिस नगर्नु
तिम्रो गणनामा
मेरो कुनै जात छैन
कुनै धर्म छैन
मान्छे मेरो जात हो
मानवियता मेरो धर्म हो
म यो पृथ्वीको गोलभुगोल भित्र जन्मिएको
एउटा मान्छे हो !
यो मान्छे गणना होइन
भक्तगणना हो
त्यसैले मलाई घटाउ त्यो हुलबाट
म भक्त होइन !
तिमी कार्यकर्ताहरुको गणना गर
भोटको गणना गर
तिम्रो ब्यबस्थाको आयुको गणना गर
कृपया हाम्रा दैलोमा आएर
हाम्रो टाउकोहरु गन्नुपर्दैन
के गन्न सक्छौ ?
वर्षौदेखि हाम्रो मुटुभित्र लागेको डढेलोको
वर्गमाइल र घनत्वो
के हिसाब राख्न सक्छौ
हाम्रा त्याग र बलिदानिहरुको ?
गन गन तिमी औंला भाँचेर
मान्छेका टाउको गन
हामी तिम्रो व्यवस्थाको डाड भाँचेर
तिम्रो सत्ताको करङ गन्छौं







