
सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का प्रवक्ता कृष्णबहादुर महराले पार्टीभित्र गुटबन्दी हुनु नराम्रो भएको भन्दै अहिले गुट तथा उपगुटहरुबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजित भएको टिप्पणी गरेका छन् । तर, उनले पार्टीभित्र गुटबन्दी गर्नेहरू ध्वस्त हुने चेतावनी दिएका छन्।
हिजो (शनिबार) पार्टीनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी लुम्बिनी प्रदेश कमिटीको प्रथम सम्मेलनको उद्घाटन समारोहमा महराले यस्तो टिप्पणी गरेका थिए ।
‘’अध्यक्ष प्रचण्ड पार्टीभित्रका गुट उपगुट तथा क्षेत्रीय मनोविज्ञानबाट पार्टी चलाउन खोज्नेहरुबाट आजित हुनुहुन्छ, मलाई पनि धेरैले गुट निर्माण गर्न सक्नुभएन भनेर भन्ने गर्छन्, म पार्टी निर्माणमा लाग्न चाहन्छु।”
महराले भने, ”गुट र उपगुटको म सँधै विरोधी हुँ । अहिले अध्यक्ष प्रचण्डले पार्टी भित्रका विकृतिहरूका विषयमा गम्भिर ढंगले कुरा उठाइरहनुभएको छ, साँच्चै समाजवादमा पुग्ने हो भने हामीले क्रान्तिकारी पार्टी निर्माण गर्न जरुरी छ ।’’







