नेकपा माओवादी केन्द्रको दोस्रो तहका नेता एवं अर्थमन्त्री जनार्दन शर्माले प्रचण्ड असफल भएको भन्दै आफु मुख्य नेत्तृत्वका लागि तयार रहेको बताएका छन् ।

आउँदो पुस ११ देखि १३ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनमा अध्यक्षको प्रत्यासी बन्न शर्माले प्रतिनिधिमूलक रुपमा देशभरका निकट कार्यकर्तासँग छलफल गरेका हुन्।

शनिबार दिउँसोदेखि ठेमलस्थित एक होटलमा उनले छलफलको आयोजना गरेको स्रोतले जानकारी दियो। भेलामा ४० जना हाराहारी सहभागी थिए।

शर्माले अब पुष्पकमल दाहाल प्रचण्डबाट माओवादी आन्दोलन अघि बढ्न नसक्ने भएकाले आफू अघि बढ्न लागेको र त्यसका लागि सबैको सहयोगको खाँचो रहेको बताएको सहभागी एक कार्यकर्ताले जानकारी दिए।

शर्माले प्रचण्डले पार्टीलाई गति दिन नसकको आरोपसमेत लगाएका छन्।

उनको भनाइ उद्धृत गर्दै सहभागी ती कार्यकर्ताले भने, ‘अब म नेतृत्वमा आउनुपर्छ। सधैँ प्रचण्डले पार्टी चलाउन सक्नुहुन्न। हामीले जिम्मेवारी लिनेबेला आएको छ। तपाईंहरुले सहयोग गर्नुपर्‍यो। सुझावअनुसार म अघि बढ्छु।’

उपस्थितमध्ये धेरैजसो प्रेस संगठनमा आबद्ध कार्यकर्ता थिए। उनीहरु शनिबार होटलमै बसे पनि मन्त्री शर्मा साँझ फर्किएका थिए।

कार्यक्रमको संयोजन नेपाल टेलिभिजनका पूर्व महाप्रबन्धक समेत रहेका शर्माका प्रेस संयोजक गोविन्द रोक्काले गरेका थिए। छलफलमा राष्ट्रिय सदस्य जगप्रसाद शर्मा, डा. सुरेन्द्र उपे्रती, ओपेन्द्र शर्मा, खिलबहादुर भण्डारीलगायत सहभागी थिए। जगप्रसाद शर्माका फुपुका छोरासमेत हुन्।

रोक्काले कार्यक्रम अर्थ मन्त्रालयले गरेका कामलाई कसरी प्रचार प्रसार गर्न सकिन्छ भन्ने विषयमा मात्रै केन्द्रित भएको दाबी गरे।

देश सञ्चारसँग उनले भने, ‘हामीले मन्त्रालयले गरेका राम्रा कामको प्रचार–प्रसार कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेका हौँ। पार्टीको आन्तरिक विषयमा एक शब्द पनि कसैले बोल्नुभएको छैन। विज्ञ साथीहरुलाई बोलाइएको थियो।’

२०६९ माघमा हेटौंडामा महाधिवेशन गरेपछि माओवादीले अर्को महाधिवेशन गरेको छैन।

यसपटक उसले पार्टीका प्रत्येक तहमा निर्वाचनमार्फत नेतृत्व चयन गर्ने निर्णय गरेको छ। माओवादीमा प्रचण्डपछिको नेतृत्वका लागि शर्मा र वर्षमान पुनबीच प्रतिस्पर्धा छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार