नेकपा एमालेमा रहेका भीम रावलगायत नेताहरु पछिल्लो समयमा ओलीबाट पेलाइमा परेपछि अलपत्र पर्न थालेका छन् ।

माधव नेपालको साथ छाड्नेहरु अहिले एमालेमा झन् कमजोर हुँदै गएका छन् । रावल अपमानित हुन थालेका छन् । उनको सुदूरपश्चिम प्रदेशको इञ्चार्ज खोसिइसकेको छ । पाण्डे निरिह सावित भएका छन् । भुसाल बेला बेलामा असहमति प्रकट गर्छन् मात्र ।

ओलीले पार्टीमा झन् प्रभाव बढाएका छन् । उनकै योजना अनुसार विधान अधिवेशन आजबाट सुरु हुँदैछ । विधानमा उमेरहद, प्रतिनिधि चयन, पदाधिकारीलगायत केन्द्रीय सदस्यको संख्या र चयन प्रक्रियाबारे टुंगो लगाउने तयारी भएको छ । यी सबै ओली शक्तिशाली बन्ने अभिप्रायले भएको छ । ओलीका सामु कोही बोल्न नसक्ने अवस्था बनेको छ । नीतिभन्दा नेता प्रधान बन्न थालेको छ एमाले ।

यसअघि विधान महाधिवेशनको प्रतिनिधि ३ हजारसम्म हुने भनिएकोमा ५ हजार पुग्ने भएको छ । यसलाई अर्थपूर्ण मानिएको छ । एमालेमा ७ प्रदेशमा ७ जना उपाध्यक्षको प्रस्ताव गरिएको छ । केन्द्रमै उपाध्यक्ष तोकेर प्रदेशको समेत इञ्चार्ज दिने गरिएकोमा फरक तरिका अपनाउन लागिएको छ । यो एमालेमा अहिले ओलीइतर समूहमा रहेका उपाध्यक्षहरुलाई लक्षित गरी बनाइएको देखिन्छ । उनीहरु प्रदेशस्तरमा खुम्चाइने देखिएको छ ।

ओलीले १० बुँदे सहमति हुबहु कार्यान्वयन नगर्ने स्पष्ट पारेका छन् । यसबारे स्थायी कमिटी बैठकमा छलफल चलेको छ । तर, माओवादीबाट आएकाहरुको व्यवस्थापनलाई समेत ध्यानमा दिएर हुबहु कार्यान्वयन नगर्ने ओलीको अडान छ । यो कदमले सुदूरपश्चिममा इञ्चार्ज रहेका भीम रावलको ठाउँमा लेखराज भट्ट नै कायम रहने निश्चितप्रायः भएको छ । बागमतीमा रामबहादुर थापा बादल नै कायम हुने देखिएको छ । एमालेमा विगतमा माधवकुमार नेपाल पक्षमा रहेका उपाध्यक्षत्रय भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवत्रय गोकर्ण बिष्ट, योगेश भट्टराई र भीम आचार्य, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे र रघुजी पन्तलगायत पेलाईमा परेका छन् ।

उनीहरु ओलीलाई १० बुँदे हुबहु कार्यान्वयनमा दबाब बढाइरहेका छन् । ओलीले १० बुँदे हुबहु कार्यान्वयन नगरे रावलसहितका नेताहरुले कस्तो कदम चाल्ने हुन् ? चासो बनेको छ । तर, उनीहरु एमाले छाड्न पनि सक्दैनन् त्यहाँ बलियो बन्न पनि सक्दैनन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार