विश्वका नेता, राजनीतिज्ञ तथा धनाढ्यहरुले करछलीका लागि ठूलो सम्पत्ती ‘ट्याक्स हेभन’ मुलुकमा गोप्य तवरले ‘अफशोर कम्पनी’ (नाममात्रका कम्पनी) स्थापना गरेर लगानी तथा शेयर खरिद–बिक्री गरेको खुलासा भएको छ ।

गैरकानुनी रुपमा आर्जन गरेको रकम लुकाउनका लागि उनीहरुले करछलीका लागि सहज मानिने ट्याक्स हेभन मुलुकमा अफशोर कम्पनी खोलेर लगानी गरेको खुलासा भएको प्यान्डोरा पेपर्समा उल्लेख छ ।

अमेरिकाको वासिङटन डिसीमा रहेको अन्तर्राष्ट्रिय खोज पत्रकारहरुको संयन्त्र, इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट (आइसिआइजे) सहित विश्वभरका १४० भन्दा बढी सञ्चारमाध्यमको सहकार्यमा ‘प्यान्डोरा पेपर्स’ सार्वजनिक भएको हो ।

पछिल्लोपटक सार्वजनिक भएको वित्त गतिविधि सम्बन्धी गोप्य कागजातहरु, जसलाई प्यान्डोरा पेपर्स नाम दिइएको छ । प्यान्डोरा पेपर्समा विश्वका ३५ नेता (वर्तमान वा पूर्व) तथा ३०० सय भन्दा बढी सार्वजनिक पदधारी रहेका छन् । यसरी धन लुकाउनेमा जोर्डनका राजादेखि रुसका राष्ट्रपति भ्लादिमिर पुटिन तथा चेक गणतन्त्रका प्रधानमन्त्री आन्द्रेज बाबिससम्म छन् ।

पछिल्लो सात वर्षमा गोप्य कागजातहरु सार्वजनिक हुने क्रम जारी रहेको छ र प्यान्डोरा पेपर्स त्यसकै निरन्तरता हो । यसअघि फिनसेन फाइल्स, द प्याराडाइज पेपर्स, द पानामा पेपर्स र लक्सलिक्स सार्वजनिक भएका थिए ।

आइसिआइजेले कागजातहरुको अध्ययन गरेको यो ठूलो घटना हो । यसमा विश्वभरबाट ६५० भन्दा बढी पत्रकार सामेल भएका छन् । प्यान्डोरा पेपर्सका लागि १४ स्रोतबाट एक करोड १९ लाख ३ हजार ६७६ कागजात र २.९४ टिबी डाटाको अध्ययन गरिएको हो ।

यसैबिच प्यान्डोरा पेपर्सको अध्ययनमा नेपालबाट सामेल भएको खोज पत्रकारिता केन्द्रका अनुसार गैरकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने मुलुकमा नाममात्रका कम्पनी खडा गरेर गोप्य लगानी, कारोबार र शेयर खरीद–बिक्री गर्ने काममा नेपाली पनि संलग्न रहेको प्रमाण फेला परेको छ ।

आइसिआइजेले उपलब्ध गराएको कागजात अनुसार नेपालका अर्बपति विनोद चौधरी र उनको परिवकारका सदस्यको नाममा कर प्रणाली पारदर्शी नहुने र जवाफदेही पनि नखोजिने ट्याक्स हेभन मुलुक ब्रिटिश भर्जिन आइल्याण्डमा नाम मात्रको कम्पनी खोली विभिन्न देशमा कारोबार गरेकोपाइएको खोपके (खोज पत्रकारिता केन्द्र) ले जनाएको छ ।

नाम मात्रको कम्पनी खोलेर कारोबार गर्नेमा नेपालको अर्को व्यापारिक घराना गोल्छा अर्गनाइजेशन पनि रहेको छ । गोल्छा अर्गनाइजेशन सम्बद्ध लोकमान्य गोल्छा, उनका दिवंगत भइसकेका दुई भाइ, उनीहरूका काकाका छोरा चन्द्रकुमार गोल्छा र दिवाकरका छोरा हितेश गोल्छाको नाममा ब्रिटिश भर्जिन आइल्याण्डमै रहेको देखिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार