
राजेन्द्र रावत क्षेत्री । प्युठान । नेपाल कम्युनिस्ट पार्टी निकट जनवर्गिय संगठन मगर मुक्ति मोर्चा नेपाल प्युठानको दोस्रो जिल्ला सम्मेलन सोमबार सम्पन्न भएको छ ।
सम्मेलनले नरबहादुर थापा मगरको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा उमाराम घर्ती मगर र पिङ्की बुढा मगर, सचिवमा बोम बहादुर पुन मगर, सहसचिवमा किरण पुन मगर र कोषाध्यक्षमा होम बहादुर पुन मगर रहेका छन् ।
कार्यक्रममा मगर मुक्ति मोर्चा नेपालका केन्द्रीय महासचिव इन्द्र बहादुर घर्ती मगरले देशमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना नगरेसम्म जातीय मुक्ति सम्भव नरहेकाले एकीकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवाद स्थापनाको लागि सम्पूर्ण मगर समुदाय एकजुट हुन आग्रह गरेका थिए । उले भने– “नेपालमा विभिन्न परिवर्तनको आन्दोलनमा मगरहरुको अग्रणी भुमिका रहे पनि राज्यको निर्णय गर्ने स्थानमा मगर समुदायको प्रतिनिधित्व नरहनु दुखद पक्ष हो ।“
त्यस्तै कार्यक्रममा नेकपा प्युठानका सेक्रेटरी अजय, जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेशका उपाध्यक्ष राजेन्द्र रावत क्षेत्री, जनजाति आन्दोनका नेता भोज बिक्रम बुढा मगर, हरि बिएम लगायतले नव निर्वाचित कार्य समितिलाई बधाई तथा सम्मेलनको पूर्ण सफलताको शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रम नर बहादुर थापा मगरको अध्यक्षता, बोम बहादुर पुन मगरको स्वागत मन्तव्य र उमाराम घर्ती मगरको संचालनमा सम्पन्न भएको थियो ।








