नेपाल प्रहरीको आईजीपी बन्नका लागि भारतीय दूतावास धाउने नेपालका प्रहरी अधिकारीलाई के–कस्तो कारबाही हुनुपर्ला ? यस्तो घटनामा राज्यले केही नभएजस्तो गरेर बस्न मिल्छ कि मिल्दैन ? नेपालका लागि भारतीय पूर्व राजदूत रञ्जित रेले हालै एक पुस्तकमा नेपाल प्रहरी संगठनको बेइज्जती र मानमर्दन हुने प्रसङ्ग उल्लेख गरेपछि यस्तो प्रश्न उब्जिएको छ ।

प्रहरी महानिरीक्षकको दौडमा रहेका चारजना प्रहरी अधिकारीहरूले इण्डिया हाउसमा आफूसँग बेग्लाबेग्लै भेट गरेको पूर्व राजदूत रेले आफ्नो पुस्तक ‘काठमाडौँ डिलेमा रिसेटिङ इण्डिया–नेपाल टाइज’ को पृष्ठ १८ मा लेखेका छन् । आफूले बोलाएको नभई उनीहरू आफैं भेट्न आएको रेले पुस्तकमा उल्लेख गरेका छन् ।

‘नयाँ आईजीपी चयन गर्नका लागि चारजनाको सूची थियो । चार जनामध्ये प्रत्येकले भारतीय समकक्षीसँग सहकार्य बलियो बनाउने ईच्छा व्यक्त गर्दै इण्डिया हासउमा मलाई भेटे,’ पूर्व राजदूतले किताबमा लेखेका छन्, ‘मलाई भेट्न मैले उनीहरूलाई निम्तो दिएको थिइनँ ।’

भारतले नेपालमा ‘माइक्रो म्यानेजमेन्ट’ गरेको नभई नेपालीहरू नै आफैँ दूतावास धाउने गरेको दृष्टान्तका लागि आफूले आईजीपी नियुक्तिको प्रसङ्ग उल्लेख गरेको पूर्व राजदूत रेले बताएका छन् । उनले दुईवटा आईजीपी नियुक्तिका विषयमा चर्चा गर्दै नेपालको आईजीपी पद भारतीय चासो विषय भएको स्वीकारोक्ति पनि प्रकट गरेका छन् । उनको यस्तो चर्चाले नेपाल प्रहरी संगठनको स्वाभिमानमाथि धज्जी उडेको छ ।

पूर्वरादजूत रेले इण्डिया हाउसमा आफूलाई भेट्न आएका भनी उल्लेख गरेका आईजीपीका चार दाबेदारमध्ये दुईजना अहिले पनि महत्वपूर्ण सरकारी ओहोदामै छन् । यीमध्ये एकजना नवराज सिलवाल हुन्, जो नेकपा एमालेका सांसद छन् । अर्का जयबहादुर चन्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त बनेका छन् । बाँकी दुई आईजीपीका दाबेदारमा प्रकाश अर्याल र बमबहादुर भण्डारी हुन् ।

आईजीपीमा चारजनाको प्रतिस्पर्धा हुनुपूर्व पनि अर्का आईजीपी नियुक्तिबारे तत्कालीन गृहमन्त्री (स्व. माधव घिमिरे) ले आफूसँग सुझाव मागेको र आफूले बरिष्ठलाई नियुक्त गर्नू भनी सुझाव दिएको पूर्व राजदूत रेले आफ्नो किताबमा लेखेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार