
चीन नेपालका संसदीय कम्युनिस्ट पार्टीहरुलाई मिलाउन फेरि लागिपरेको बुझिएको छ । उसले निर्वाचन अघि नै संसदीय कम्युनिस्ट पार्टीहरुलाई मिलाउने सक्रियता देखाएको छ ।
चिनियाँ राजदूत होउ यान्छीले कम्युनिस्ट पार्टीहरुलाई भरसक एक बनाउने नभए चुनावमा गठबन्धन बनाउने अवस्था तयार गर्न लागेकी हुन् । उनले नेपाल डाइलग फोरमको भर्चुअल कार्यक्रममा कम्युनिस्ट पार्टीहरुलाई मिलेर अगाडि बढ्न भनिन् । आइतबार भएको कार्यक्रममा उनले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नाम नै लिएर चीनले उनीहरु मिलेर बढुन् भन्ने चाहेको खुलाइन् ।
यान्छीले एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मिल्न सुझाव समेत दिइन् । उनले दुवै नेताहरुको नाम लिइन् ।
एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेपछि चीनको सक्रियता नेपालमा झन् बढेको थियो । नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच संयुक्त प्रशिक्षण समेत भयो । कुनै अर्को देशको दलसँग नेपालको कुनै दलले संयुक्त प्रशिक्षण राखेको यो पहिलो घटना थियो ।
विगतमा एमाले र माओवादी केन्द्र मिलेर आमनिर्वाचन लड्दा बहुमत हासिल गरेका थिए । दुवैको गठबन्धनले परिणाम ल्याएकोले चीन फेरि त्यही अवस्था दोहोराउन लागेको छ ।
चीन कम्युनिस्ट मिलाउन सक्रिय भएपनि त्यो सजिलो छैन । एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच पानी बाराबारको स्थिति छ ।







