
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय जनपरिषद् नेपालले नेकपाका केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ प्रति शोक वक्तव्य जारी गरेको छ ।
केन्द्रीय जनपरिषद्का प्रमुख सन्तोष बुढामगरले जारी गरेको वक्तव्यमा जनयुद्धको समयमा जनमुक्ति सेनाका बटालियन कमिसार, सेना र सङ्गठनका कुशल कमान्डर रहेका वीरजङ्गको असामयिक निधनले नेपाली कम्युनिस्ट आन्दोलनले ठूलो क्षति बेहोर्नु परेको उल्लेख छ ।
क्रान्तिकारी आन्दोलनमा लामो समय क्रान्तिकारी विचारमा प्रतिवद्ध नेता बीरजंग लुम्बिनी ब्युरो इन्चार्ज र मध्यपश्चिम कमान्ड इन्चार्जको भूमिका कुशलतापूर्वक पूरा गर्दै आएको नेता भनेर प्रेस विज्ञप्तीमा उल्लेख छ ।
ओलीको कथित कम्युनिस्ट सरकारले नेकपामाथि प्रतिबन्ध लगाएपछि नेता बीरजंगलाई एक नम्बरको निशाना बनाएको, दुई-दुईपटक गिरफ्तार गरी लामो समय जेल र हिरासतको यातना दिएको र जेल–हिरासतको यातनाले उनको कमजोर स्वास्थ्य अवस्था झन् बिग्रिँदै गएको उल्लेख छ ।
वक्तव्यमा अगाडि भनिएको छ –
“उहाँ पञ्चायतविरोधी आन्दोलनदेखि जनयुद्ध हुँदै माओवादी जनयुद्धको नेतृत्वको विचलन र आत्मसमर्पणका विरुद्ध निरन्तर सङ्घर्ष गर्दै आउनुभएको थियो । साथै वर्तमान दलाल पुँजीवादी सत्ताका विरुद्ध पनि अविराम सङ्घर्ष गर्दै आउनुभएको थियो । त्यसैले यो प्रतिक्रियावादी सत्ता र सरकारको आँखाको कसिङ्गर बन्दै आउनुभयो ।”
नेता बीरजंगप्रति उच्च सम्मान व्यक्त गर्दै विज्ञप्तीमा भनिएको छ –
“दुई लाइन सङ्घर्ष र वर्गसङ्घर्षमा अत्यन्त कुशल भूमिका र जिम्मेवारी निर्वाह गर्दै आउनुभएका कमरेड वीरजङ्ग जनयुद्धमा जनमुक्ति सेनाको बटालियन कमिसार हुँदै सेना र सङ्गठनमा पनि कुशल कमान्डर र कमिसारको भूमिका निर्वाह गर्नुभएको थियो । शान्तिप्रक्रियापछि प्रचण्डको विचलन र आत्मसमर्पणपछि लगातार क्रान्तिकारी आन्दोलनको नेतृत्व गर्दै लुम्बिनी ब्युरो इन्चार्ज, मध्यपश्चिम कमान्ड इन्चार्जको भूमिका पनि कुशलतापूर्वक पूरा गर्दै आउनुभएको थियो ।”







