
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन भएको टिप्पणी गरेपछि एमालेका तेस्रो धारका नेताहरु आक्रोशित बनेका छन् । यो विषयमा विहीबार (आज) बस्ने स्थायी कमिटी बैठकमा कुरा उठ्ने भएको छ ।
एमाले अध्यक्ष ओलीले बुधबार वागमती प्रदेश अधिवेशन आयोजक कमिटीको बैठकमा पार्टीका कतिपय नेताहरुलाई ‘१० बुँदे, १० बुँदे भनेर ट्याङ ट्याङ् नगर्न’ चेतावनी दिएका थिए । अध्यक्ष ओलीको यस्तो अभिव्यक्तिपछि १० बुँदे तयार गर्ने नेताहरु आक्रोशित बनेका छन् ।
एमाले उपाध्यक्ष भीम रावलले ओलीको उक्त टिप्पणीप्रति सार्वजनिक रुपमै असन्तुष्टि जनाउँदै पार्टीलाई एकताबद्ध बनाएर लैजाने हो भने सहमति कार्यान्वयनको विकल्प नभएको चेतावनी दिइसकेका छन् ।
अध्यक्ष ओलीले बुधबारको आफ्नो मन्तव्यमा १० बुँदेको औचित्य सकिएको आशय मात्रै व्यक्त गरेनन् । उनले पार्टीभित्र अझै ‘माधव प्रवृत्ति’ कायमै रहेको भन्दै तेस्रो धारका नेताहरुलाई माधव प्रवृत्ति त्याग्न चेतावनीसमेत दिए ।







