
प्रचण्ड छोडेर एमाले रोजेका नेता मणि थापाले विचारविहीनता र शक्तिको तानातानले अन्ततः एमाले पनि विघटन हुने बताइएका छन् ।
आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता थापाले भने, “राजनीति समाज रुपान्तरण र जनपक्षीयताका निम्ति भन्दा पनि मुट्ठीभर मानिसका निम्ति हो कि भन्ने जनतामा परिरहेको छ । जसरी पनि चुनाव जित्ने र सरकारमा जाने ढंगले सोच्ने हो कम्युनिस्ट पार्टी रहँदैन, कम्युनिस्ट पार्टीभित्र दुई लाइन संघर्षको व्यवस्थापन गर्न गाह्रो भएको स्थिति हो ।”
नेता थापाले एमालेभित्रको १० बुँदे सहमतिले माओवादीबाट केपी शर्मा ओलीलाई समर्थन गरेका आफूहरुलाई अप्ठ्यारो नपारे पनि त्यसले राम्रो संकेत नगरेको बताए ।
उनले थपे, “कमरेड भीम रावलले कार्यदलबाट राजीनामा दिनुभएको हो, एमालेबाट होइन । त्यसैले यसलाई मैले ठूलो समस्याका रुपमा लिएको छैन । पार्टीभित्र रचनात्मकता र वैचारिकताभन्दा पनि आफूलाई पावरमा लैजाने कुरामा ध्यान दिँदा यस्ता कुरा बारम्बार आइरहन्छ । दुई लाइन संघर्ष भएन भने कम्युनिस्ट पार्टी जीवन्त हुँदैन । तर यो व्यक्तिगत प्रतिष्ठा, क्षेत्रगत र गुटलाइनको संघर्ष हो । एकता प्रक्रिया निष्कर्षमा नपुगेको अवस्था हो ।”







