
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश २ का पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको बैठकमा गुटको अन्त्य गर्न निर्देशन दिए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश २ का पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको बैठकमा आइतबार दिएको निर्देशनात्मक अभिव्यक्ति हो यो ।
उनले भने, ‘गुटबन्दीले धेरै बदनाम पनि भयो, ज–जसले गुटबन्दी गरिरहेका छन्, आजैको मितिबाट त्यसलाई त्याग गरी पार्टीलाई विधि र पद्धतिबाट सञ्चालन गर्नुस् ।’ ।
‘केन्द्रबाट कुनै पनि नेता कार्यक्रम लिएर प्रदेश २ मा जाँदा प्रदेश समितिलाई जानकारी गराउनुपर्छ, प्रदेश समितिबाट हुने कार्यक्रमका आधारमा सहभागी हुनुपर्छ,’ उनले भने, ‘प्रदेश २ का नेताहरू आफूखुसी गएर संगठन बनाउने, सदस्यता बाँड्ने, पार्टी प्रवेश गराउने, उद्घाटन गर्ने, गुटगत बैठकहरू गर्ने गरेको पाइन्छ, अब आइन्दा त्यस्तो काम गरेको पाइएमा कारवाहीको भागिदार बन्नुपर्छ ।’
प्रचण्डले यस्तो निर्देशन दिइरहँदा मातृका यादव भने बैठकमा उपस्थित थिएनन् । प्रभु साहले माओवादी केन्द्र छाडेपछि मधेसमा नारायणकाजी श्रेष्ठ र मातृका यादवले गुट सञ्चालन गरिरहेको आरोप लाग्दै आएको छ । यसबारे बैठकमा कुरा पनि उठेको स्रोतको भनाइ छ ।
नारायणकाजी श्रेष्ठले पूर्वजनमोर्चालाई संरक्षण गर्छन् भने मातृका यादवले आफ्ना गुटका खासगरी विगतमा माओवादीबाट अलग हुँदा उनलाई साथ दिएका नेता तथा कार्यकर्तालाई संरक्षण गरिरहेका छन् ।







