
खोमा तरामु मगर,बुटवल
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले बन्दुक नबोकेर र संसदमा नछिरिकन वैज्ञानिक समाजवाद प्राप्त गर्ने बाटो जनमत संग्रहको चुनाव भएको बताएका छन् ।
अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय समितिको छैठौँ पूर्ण बैठकको बुटवलमा उद्घाटन गर्दै महासचिव विप्लवले यो कार्यनीति एकीकृत जनक्रान्तिको राजनीतिक कार्यदिशा अन्तर्गतको कार्यनीति भएको बताएका हुन् ।
“बन्दुक नबोकी र संसद नछिरि वैज्ञानिक समाजवादमा पुग्ने नयाँ कार्यनीति जनमतसङ्ग्रह हो ।” उनले यसको पक्षमा सम्पूर्ण बुद्धिजीवी, शिक्षकहरूले बहस सिर्जना गर्नुपर्ने बताए । विप्लवले शिक्षकहरू समाज रुपान्तरणको अग्रभाग हुनुपर्ने भन्दै शैक्षिक र पेशागत मुद्दाका साथै वैज्ञानिक समाजवादको पक्षमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।
महासचिव विप्लवले पार्टीलाई अनिवार्य श्रमसित जोड्नुपर्ने बताउँदै भने, “पार्टीलाई आगामी दिनमा आर्थिक दृष्टिले आत्मनिर्भर बनाउने र चन्दा उठाएर पार्टी चलाउने परम्परालाई अन्त्य गछौँ ।” उनले दलाल संसदीय पुँजीवादी व्यवस्थाबाट जनता आजित भएको भन्दै पुँजीवादी संसदीय व्यवस्था कि वैज्ञानिक समाजवाद भन्ने सवालमा जनतालाई फैसला गर्ने अधिकार दिनुपर्ने बताए ।
महासचिव विप्लवले आफूहरूले जनयुद्धको सुरुवातदेखि नै नेपालमा संसदीय व्यवस्था असफल भएको बताउँदै आएको भन्दै जनमतसङ्ग्रह जनताको तागतमा हुने बताए ।
उनले जनमतसङ्ग्रहबाट संसदीय व्यवस्थाको पराजित हुने अवस्था देखेपछि यसको विपक्षमा गलत टिकाटिप्पणी भएको समेत बताए ।







