
ताइवानकी राष्ट्रपति साइ इङ–वेनले ताइवानमा अमेरिकी सेनाको उपस्थिति रहेको पनि पुष्टि गरेकी छन् । सीएनएनसँगको अन्तर्वार्तामा उनले त्यसको पुष्टि गरेकी हुन् ।
सीएनएनसँगको अन्तर्वार्तामा साइले चीनदेखि २०० किमिभन्दा पनि कम दूरीमा रहेको ताइवान प्रजातन्त्रको आलोक भएको बताउँदै प्रजातान्त्रिक मूल्यप्रति विश्वव्यापी विश्वास कायम राखिराख्न त्यसको रक्षा गरिनुपर्ने बताइन् ।
“यो द्वीप दुई करोड ३० लाख जनताको हो, जो हर दिन आफू र आफ्नो प्रजातन्त्र जोगाउन कडा प्रयास गरिरहेका छौँ र हाम्रा जनता जुन स्वतन्त्रताको लागि उनीहरू योग्य छन्, त्यसको सुनिश्चित गरिरहेका छन्,” साइले भनिन् ।
अधिनायकवादी शासनले विस्तारवादी तरिका अपनाए त्यसविरुद्ध प्रजातान्त्रिक मुलुकहरू एक ठाउँमा उभिनुपर्ने साइको भनाइ छ । चीन र ताइवान सम्बन्ध अहिले चार दशकयताकै तिक्ततापूर्ण बनेको छ ।
यसैबीच ताइवानकी राष्ट्रपति वेनले चिनियाँ आक्रमणविरुद्ध अमेरिकाले ताइवानको रक्षा गर्ने विश्वास व्यक्त गरेकी छन् । चीनबाट दिन प्रतिदिन खतरा बढिरहेको भन्दै उनले यस्तो विश्वास व्यक्त गरेकी हुन् ।
गत साता अमेरिकी राष्ट्रपति जो बाइडनले टाउनहलमा यदि चीनले ताइवानमाथि आक्रमण गरे अमेरिकाले रक्षा गर्न सक्ने बताएका थिए । चीन र ताइवानको विषयमा अमेरिकाले अस्पष्ट नीति अवलम्बन गर्दै आएको छ ।







