
काठमाडौँको सत्ता कहिल्यै ढलेको छैन । निरन्तरतामा छ । राणाको स्थानमा शाहहरू आए । काङ्ग्रेसमा सुरुमा नै सामन्तहरू आएर घेराबन्दी गरे । बीपीले त्यो घेरा तोड्न सकेनन् । गणेशमानलाई सत्ता कब्जा गरेर बसेको वर्गले धुलोपिठो पार्यो । जीवनको उत्तराद्र्धमा काङ्ग्रेस नै छोडेर मर्नुपर्यो । फ्युजनको सारतत्व ठीक थियो, पछि विकृत पारियो । विषयलाई भावनामा हेर्ने, सारतत्वमा नहेर्ने भएको छ ।
प्रचण्डको फ्युजन र विद्रोहमा जनमुक्ति सेना विघटन गर्ने र क्रान्तिलाई अन्यत्रै फर्काउने नियत थियो । भक्तपुरको सेनाका कमान्डरसहितको छलफलमा हामीले प्रचण्डको योजनाको प्रतिवाद गर्र्यौं । त्यतिबेला विषयको गम्भीरता धेरैले बुझेनन् । हामीले जनमुक्ति सेना बचाउन जनयुद्धको जगमा जनविद्रोह भन्यौँ । त्यो नै पारित भयो तर प्रचण्डले पासाङलाई पार्टीको समस्याले गर्दा भन्नुपरेको हो । जनसेना राख्न सकिन्न भनेछन् । हामीले खरीपाटी भेलामा विद्रोह गर्र्याैं । खरीपाटीमा प्रचण्ड अल्पमतमा परे । ३५ सदस्यीय केन्द्रीय समितिमा आधा–आधा भयो । बादल बीचमा बसे । राती १२ बजे प्रचण्डले बादलसँग सहयोग मागेछन् । बादलले अर्को दिनको बैठकमा राती १२ बजे केही कमरेडहरूले भोट मागेका छन् तर म माग्नेलाई दिन्नँ भनेपछि स्पष्ट रूपमा अल्पमतमा परेका थिए । त्यसपछि प्रचण्ड झुक्न थाले । धोबीघाट प्रचण्ड प्रवृत्तिलाई लगाम लगाउन गरिएको थियो ।
प्रचण्डसँगको सङ्घर्षमा धोबीघाटलगत्तै गुरुङले प्रचण्डलाई गद्दार भन्ने प्रस्ताव गरे । हामीले त्यसो नभनौँ भन्यौँ । त्यसपछि प्रचण्डसँग साँठगाँठ छ भन्न थाले । लगत्तै सुशील कोइराला देशभक्त भएकाले कोइरालासहितको सरकारको माग गरे । हामीले प्रचण्डभन्दा कोइराला देशभक्त हुँदैन भन्यौँ । नवऔपनिवेशिक चरणमा देश पुगेकाले लड्न सकिन्न भन्न थाले । यसरी सुधारवाद आउन थाल्यो ।
(२०७८ असोज ११ देखि १४ गतेसम्म चितवन पर्सामा सम्पन्न केन्द्रीय प्रशिक्षणमा व्यक्त विचारको सम्पादित सानो अंश)







