कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार साँझ राजीनामा दिएका छन्।

मुख्यमन्त्रीको कार्यालयमा पत्रकार सम्मेलन गरेर उनले पदबाट राजीनामा घोषणा गरेका हुन्। उनले सोमबारै प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई राजीनामा पत्र बुझाउने तयारी गरेका छन्।

सत्ता साझेदार दल नेपाली कांग्रेससँग भएको सहमति अनुसार मुख्यमन्त्री शाहीले राजीनामा दिएर नयाँ सरकारको ढोका खोलिदिएका हुन्।

केही दिन अघिसम्म पद नछाड्ने बताएका उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति कार्यान्वयन गर्न निर्देशन दिएपछि राजीनामा दिएका हुन्।

मुख्यमन्त्री शाहीले राजीनामा दिएसँगै पूर्व सहमति अनुसार अब कर्णालीमा नेपाली कांग्रेस दलका नेता जीवनबहादुर शाहीले सरकारको नेतृत्व गर्नेछन्।

तत्कालीन नेकपा खारेजीमा परेर माओवादी केन्द्र ब्यूँतिएपछि शाहीले गत वैशाख ३ गते विश्वासको मत लिएका थिए।

शाहीलाई मुख्यमन्त्रीमा टिकाउन त्यसबेला माओवादीले कांग्रेससँग ६/६ महिना आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेको थियो।

कांग्रेस-माओवादीबीच पहिलो ६ महिना शाही र बाँकी समय जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने समझदारी थियो।

त्यही सहमति अनुसार २०७८ जेठ २४ गते २ मन्त्रालय लिएर कांग्रेस कर्णाली सरकारमा सहभागी भएको थियो।

उक्त सहमति अनुसार माओवादीबाट मुख्यमन्त्री बनेका शाही बाहिरिएका हुन्।

मुख्यमन्त्री शाहीले गत वैशाख ३ गते विश्वासको मत लिएका थिए। राजीनामा दिनुअघि मुख्यमन्त्री शाहीले अपरान्ह क्याबिनेट बैठक राखेका थिए।

शाही २०७४ फागुन ३ गते मुख्यमन्त्री बनेका हुन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार