
वर्तमान सत्ता गठबन्धनको प्रमुख सदस्य नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पास गर्ने सहमतिसहित नभइ सबै दलसँग छलफल गरी राष्ट्रिय सहमतिका आधारमा पास गर्नु पर्ने र त्यसका लागि समय चाहिने भन्दै अमेरिकालाई पत्र पठाएको बताएका छन् ।
खुमलटारस्थित निवासमा देउसी भैलो खेल्न पुगेको कलाकर्मी तथा सञ्चारकर्मीसँगको कुराकानीमा उनले पास गर्ने नभई राष्ट्रिय सहमतिका लागि समय चाहिने भन्दै पत्र पाठाएको स्पष्टिकरण दिएका हुन् ।
उनले भने, ‘पास गर्ने नभइ एमसिसीका लागि राष्ट्रिय सहमति जुटाउने व्यहोराको पत्र पठाएका हौँ ।’
प्रचण्डले स्पष्टिकरण दिँदै भने, ‘शेरबहादुर जीले हामीले सहमति जनाएर चिठी पठाइसक्यौँ भनिदिनु भएछ, त्यसले तरंग पैदा भएछ। साथीहरुलाई जवाफ दिनुपरेको छ । तर पछि शेरबहादुर जीले मैले त्यस्तो कहाँ भनेको छु र? भन्नु भयो। हामीले त्यस्तो चिठी पठाएका छैनौँ।’
उनले अघि भने, ‘हामी दुईजनाले एमसिसी पास गर्न राष्ट्रिय रुपमा सहमति गर्नुपर्छ भनेर चिठी पठाएका हौँ, पास गर्न तयार छौँ भनेका छैनौँ । अमेरिका र बेलायत या अन्य देशले दिने सहयोग नलिने भन्ने हुँदैन। तर एमसिसीमा जनस्तरमै विवाद देखिएपछि यसको निरुपणपछि मात्रै पास गरौँ भन्ने हो।’
एमसिसीबारे सहमति हुँदा संसदबाट अनुमोदन गर्ने केही कुरा नभएको पनि बताए। पछि घुसाइएको कुरा समाधान नगरी एमसीसी पास गर्न नसकिने उनले बताए।







