१) अक्टोवर समाजवादी क्रान्तिको महान् विजय दिवस सोभियत यूनियनका मजदुर तथा अरु जनताको मात्र चाड होइन, यो संसारभरका तमाम मुलुकहरुका मजदुर तथा शोषित जनताको चाड हो । महान क्रान्तिको प्रेरणाले आज जुन स्फूर्तिले सोभियतका जनता कम्युनिष्ट समाजको स्थापनाको निम्ति अगाडि बढ्दैछन्, त्यही स्फूर्तिले आज अरु मुलुकहरुका जनता पनि आफ्ना आजादी, शान्ति र प्रगतिको निम्ति संघर्ष गरिरहेका छन् ।

मानव जातिको इतिहासमा महान् अक्टोवर समाजवादी क्रान्तिको विशेष महत्व छ । यहिदेखि मानवीय इतिहासले पूँजीवादी समाजवाट नयाँ समाजवादी समाजमा पाइलो सारेको थियो । यहीदेखि संसारमा दुई विरोधी व्यवस्थाहरु देखिन आउँदछन्, एक जीर्ण पूँजीवादी व्यवस्था र अर्को फल्दै फूल्दै जाँदो समाजवादी व्यवस्था ।
अक्टोबर क्रान्तिको विजय भन्दा पहिले समाजवाद एउटा कोरा सिद्धान्त मात्र थियो । तर अक्टोबर क्रान्तिको विजयले यो सिद्धान्तलाई वास्तविकतामा परिणत गरिदियो । आज समाजवाद सिर्फ कल्पना र सिद्धान्त मात्र छैन, बल्कि एउटा वास्तविक कुरा छ । इतिहासमा पहिलो पटक अक्टोबर समाजवादी क्रान्तिले शोषक वर्गको राज्यसत्तालाई धूलोमा भसारएर त्यसको ठाउँमा नयाँ सोभियत सरकारलाई बसाल्यो, जुन सोभियत सरकार मजदुर वर्गको अधिनायकत्वको स्वरुप हो ।

पूँजीपति र जमिनदारहरुको हातबाट उत्पादनका सबै साधनहरु खोसी कलकारखाना, जमिन तथा बैंक आदिलाई सार्वजनिक सम्पत्तिमा परिणत गरेर महान अक्टोबर समाजवादी क्रान्तिले जनतामाथिको शोषणलाई अन्त्य गर्यो, करौंडौं श्रमजीवी जनतालाई वेकारीको महामारीबाट मुक्त गर्यो र करौडौं किसानहरुलाई सामन्तहरुको बन्धनबाट मुक्त गरायो । सोभियत सरकारको स्थापनाले आम जनताले पहिलो पटक इतिहासमा पुरा आजादी मात्र पाएका थिएनन्, बल्कि यसको साथै जनताले आफ्नो जीवन स्तरलाई उठाउने, सुशी, उन्नत र सभ्य जीवन विताउने पुरा अवसर पनि पाएका थिए ।

२) महान अक्टोबर समाजवादी क्रान्तिले पहिलेको रुसी साम्राज्यवादी सरकारका औपनिवेशिक राष्ट्रहरुलाई पुरा आजादी दिएर उनीहरुलाई पनि स्वतन्त्र र समाजवादको निर्माणमा पुरा साझेदार बनायो । यसरी उसले औपनिवेशिक तथा अर्ध–औपनिवेशिक मुलुकहरुका जनतालाई आफ्नो आफ्नो आजादी र उन्नतिका निम्ति लड्ने प्रेरणा दिनुको साथसाथै कसरी त्यस मंजिलमा पुग्ने हो बाटो पनि देखायो ।

त्यसैले प्रेरणा र पथप्रदर्शकले महान् चीनियाँ जनताले अंग्रेज–अमेरिकी र जापानी साम्राज्यवादीहरुको पञ्जाबाट मुलुकलाई मुक्त गरी देशी सामन्तहरुको हातबाट करौडौं किसानहरुलाई छुटाएर आफ्नो आर्थिक तथा सांस्कृतिक विकासको निम्ति बाटो खोले । आज चीनियाँ जनता समाजवादतिर बढ्दैछन् । यही प्रेरणाले भियतनामी, कोरियाई तथा मंगोलियाका जनताले पनि आजादी हासिल गरेर अझ आफ्नो मुलुकमा जनताको सरकारको स्थापना गरे । आज त्यही प्रेरणाले प्रेरित भएर पूँजीवादी तथा औपनिवेशिक र अर्ध औपनिवेशिक मुलुकहरुका जनता आजादी, प्रजातन्त्र र शान्तिको निम्ति अगाडी बढ्दैछन् ।

३) महान अक्टोबर समाजवादी क्रान्तिको विजय माक्र्सवाद लेनिनवादको सिद्धान्तको शानदार विजय हो । यसले यो प्रमाणित गरेको छ कि जब माक्र्सवाद–लेनिनवादको सिद्धान्तले जनतामा जड बसाल्छ अथवा जब जनताले यो सिद्धान्तलाई अपनाउँदछन्, त्यसबेला यो क्रान्तिकारी सिद्धान्त समाजको विकासमा एउटा ठूलो शक्तिको रुपमा देखा परेर आउँदछ ।
अक्टोबर समाजवादी क्रान्तिको बिषयमा बोल्दै कामरेड स्टालिनले भनेका छन्– “अक्टोबर क्रान्तिको बिजयले मानव जातिको इतिहास, विश्व पूँजीवादको ऐतिहासिक मञ्जिलमा, संसारका मजदुरहरुको मुक्ति आन्दोलनमा, उनीहरुको संघर्षको तरिका र संगठनको रुपमा र संसारभरका शोषित जनताको जीवन र परम्परामा संस्कृति र दृष्टिकोणमा पूर्ण रुपले परिवर्तन आएको देखाउँदछ ।”

४) आज त्यस महान् अक्टोबर समाजवादी क्रान्तिको सैतिसौं बर्षगाँठ हामी यस अन्तर्राष्ट्रिय परिस्थितिमा मनाउन लागेका छौं, जब कि साम्राज्यवादीहरुको नयाँ विश्वयुद्धलाई उभार्ने कैयौं प्रयास र चालबाजीको बावजुद पनि आज अमेरिकी साम्राज्यवादीहरुले कोरियाई शान्ति सम्झौतामा दस्तखत गर्नु परेको छ । यो विश्वका शान्तिप्रेमी जनता र विश्व शान्ति आन्दोलनको विजय हो ।  हामी देख्दछौं कि एकातिर विश्वशान्तिको आन्दोलन बढ्दैछ र अर्कोतिर साम्राज्यवादीहरुको क्याम्पमा आपसी फूट र संकट स्पष्ट रुपमा बढ्दै गएको छ ।

५) द्धितीय विश्वयुद्धपछि विश्व पूँजीवादी व्यवस्थामा तीव्र रुपले संकट आउन थालेको छ । विश्वयुद्धको समयमा विशाल चीन र पूर्वी युरोपका मुलुकहरु पूँजीवादी क्याम्पबाट फुटेर निस्के । हुन त अंग्रेज, अमेरिकी र फ्रान्सिसी साम्राज्यवादीहरुले सोभियत र जनवादी मुलुकहरुको विरुद्ध व्यापारिक सन्धिहरु तोडी उनीहरुसित आर्थिक सम्बन्ध विच्छेद गरेर उनीहरुलाई फौजी घेरामा पार्ने दाउ खेल्दै आएका छन् । तर सोभियत र जनवादी मुलुकहरुसित आथि सम्बन्ध नराखेकोले त्यसको बढ्ता नोक्सान साम्राज्यवादीहरु माथि पर्न गएको छ । कारण, यस सम्बन्ध विच्छेदले एक त विश्वबजार टुक्रिन गएकोले साँग्रियो । त्यसको फलस्वरुप साम्राज्यवादी मुलुकहरुमा जति उत्पादन शक्ति थियो, त्यति उत्पादन नगरी कम गर्नु पर्यो, यानी त्यहाँको उत्पादन गर्ने शक्ति भन्दा कम मात्र हुन गयो र सोभियत तथा जनवादी मुलुकहरुमाथि हमला गर्ने नीति लिएकोले लडाइँका सामानहरु उत्पादन गर्ने उद्योगहरु ती साम्राज्यवादीहरुमा बढ्न गए र फौजी खर्च बढ्न गयो । यसले गर्दा एक त जनतालाई आवश्यकीय सामानहरुको उत्पादनको संख्या कम हुन गयो र फौजी खर्च बढाइएको जनतामाथि ट्याक्सको भार बढ्न लाग्यो । फेरि उद्योगहरु आफ्नो शक्ति अनुसार चालु नभएकोले बेकारीको संख्या बढ्न लाग्यो यसरी हमलाबार नीतिको फलस्वरुप ती साम्राज्यवादी मुलुकहरुको आर्थिक स्थितिमा तीव्ररुपले संकट आउन थाल्यो ।

अझ यति मात्र होइन, एक त अमेरिकी साम्राज्यवादले मार्शल प्लान आदि योजनाहरुद्धारा पश्चिमी राष्ट्रहरुको आर्थिक व्यवस्थामा कब्जा जमाउँदै गएको छ र अर्कोतिर सोभियत र जनवादी मुलुकहरुसितको व्यापार सम्बन्ध तोडेकोले यहाँसम्म की खाद्यान्न पनि पश्चिमी साम्राज्यवादी मुलुकहरुले अमेरिकाबाट मगाउनु पर्ने भयो । यसरी हरेक कुरामा अमेरिका माथि भर पर्न गए । यी सब कारणले गर्दा पश्चिमी साम्राज्यवादीहरुको आर्थिक स्थिति साह्रै नाजुक हुन गयो ।

६) यसैले गर्दा साम्राज्यवादीहरुको क्याम्पमा आपसी फूटको मात्र बढ्न लाग्यो र पहिले सोभियत तथा जनवादी मुलुकहरुसित व्यापारिक सम्बन्ध तोडे पनि क्रमशः व्रिटेन र फ्रान्स आदिले समाजवादी क्याम्पका मुलुकसित आर्थिक सम्बन्ध स्थापित गर्न बाध्य भएर आए । साम्राज्यवादी क्याम्पको यही अन्तरविरोधको फलस्वरुप जेनेभा सम्मेलनमा अमेरिकी साम्राज्यवादीहरुको कैयौं दबावको बावजुद पनि फ्रान्सिसी साम्राज्यवादीहरुले हिन्दचीनको शान्ति सन्धिमा दस्तखत गर्न अगाडि बढेका थिए र “युरोपियन सुरक्षा क्युनिटी” लाई भंग गर्नमा फ्रान्सिसी साम्राज्यवादीहरु अगाडी बढेका थिए । यद्यपी लण्डनमा भएको ९ राष्ट्रहरुको सम्मेलनले जर्मन फौजीवादलाई उठाएर अझ पनि लडाईको खतरा बाँकी नै राखेको छ । यसरी हामीले देख्दछौं कि साम्राज्यवादी क्याम्पका मुलुकहरुमा आर्थिक संकट तीव्र रुपले बढ्दै गएको छ र जनताको आर्थिक स्थिति नाजुक हालतमा छ ।

अर्कोतिर सोभियत तथा जनवादी मुलुकहरुमा दिन प्रतिदिन उद्योगहरु बढ्दैछन् । ती मुलुकहरुका वीचको मित्रता र एकता बढ्दै गएको छ, बेकारी आदिको समस्या छैन । देशका तमाम जनताले काम, माम र आरामको अधिकार पाएका छन् । यस क्याम्पका जनता शान्तिपूर्ण वातावरणमा आफ्नो उन्नतिको बाटोमा लाग्दैछन् । यसरी हामी देख्दछौं कि एकातिर विश्व समाजवादी आन्दोलन बढ्दैछ र अर्कोतिर साम्राज्यवादीहरुको क्याम्पको मुलुकहरुमा दिन प्रतिदिन फुट बढ्दै गएको छ ।

७) हामी त्यस महान अक्टोबर समाजवादी क्रान्तिको यस पालीको बर्षगाँठ यस राष्ट्रिय स्थितिमा मनाउँदैछौं –
जहाँसम्म देशको आर्थिक स्थितिको सवाल छ, कृषि, उद्योग र व्यापारको स्थिति झन् झन् खराब भएर गएको छ । कृृषिलाई पछौटे उत्पादनको तरिका अथवा सामन्ती अवस्थाबाट मुक्त गरी कृषिको उत्पादनलाई बढाउने दिशातिर सरकारले कुनै कदम उठाएको छैन ।  लाखौंको तागदमा किसानहरु बेदखल गरिएका छन्, किसानहरु माथि नाजायज शोषणको बोझ लागिदै छ र सुद्खोरहरुको भार बढ्दैछ ।

उद्योगको क्षेत्रमा पनि हामी यही कुरो पाउँदछौं । देशमा उद्योग नभएकाले हामीले बाहिर मुलुकहरुको भरमा पर्नु परेको छ । आज जनतालाई चाहिने एक एक कुरा विदेशबाट मगाउनु परेको छ । यस अवस्थामा देशको उद्योगलाई बढाउनको सट्टा यो सरकारको उद्योग विरोधी नीतिले गर्दा देशमा भएका उद्योगहरु पनि बन्द हुँदैछन् । उद्योगको दिशामा सरकारको के नीति रहेको छ भन्ने कुरा यसपाली सल्लाहकार सभामा माृतका सरकारले पेश गरेका चार महिने तेरिजबाट साफ हुन्छ र देशको उद्योगको विकासको निम्ति बजेटमा कुल १ प्रतिशत राखिएको छ जब कि शााही परिवारको निम्ति १५ प्रतिशत भन्दा बढ्ता खर्च देखाइएको छ ।

व्यापारको स्थिति त अरु खराब भएको छ । भारत सरकारसित गरेको असमान व्यापार सन्धि र भंन्सार सम्झौताको फलस्वरुप देशको व्यापारिक स्वतन्त्रता नै खतम भएको छ । जतिसुकै महंगोे अथवा राष्ट्रिय नोक्सान सहेर पनि हामीले भारतबाटै सामानहरु मगाउनु परेको छ । अझ भन्सार सम्बन्धी सम्झौताले गर्दा भारतीय मुद्राको विनिमय दर कम हुन गएकोले जनताको क्रय शक्ति कम भएको छ र अर्कोतिर जनताको क्रय शक्ति कम हुँदै गएकोले व्यापारको मात्र पनि कम हुन गएको छ । देशको यातायातको केही प्रबन्ध छैन । सडक निर्माणको लागि सरकारले अन्दाजी ६ लाख रुपियाँ बजेटमा दिएको छ ।

देशमा बेकारीको समस्या झन् झन् जटिल हुँदै गएको छ । सरकारले यस दिशातिर बिल्कुलै कदम चालेको छैन । काम पाउने, तनखामा काम गर्ने सरकारी कर्मचारीहरुको तनखामा मुद्रास्फितिको अनुपातमा बृद्धि नभएकोले उनीहरुमाथि यसको ठूलो भार पर्न गइरहेको छ । मजदुरहरुको निम्ति ट्रेड यूनियन अधिकार दिइएको छैन, उनीहरुको सुविधाको निम्ति कुनै कदम उठाइएको छैन ।  यसरी देशको आर्थिक अवस्था झन् झन् खराब हुदै गएको छ ।

८) देशको राजनीतिक अवस्था पनि कम संकटमय छैन । देशको विकासतिर भन्दा सरकारी फौज र पुलिसमा र अरु काममा बढ्दा खर्च गरेकोले त्यसको भार जनतामा परेको छ । यो सरकारले तोकिएको समयमा आम चुनाव गरी जनताले चुनेको प्रजातान्त्रिक सरकार देशमा स्थापना गर्नुको सट्टा चुनावको दिनलाई विल्कुलै अनिश्चित बनाएको छ । अर्कोतिर शाही घोषणा गरेर जनताको न्यायालयमा रहेको आंशिक अधिकार पनि खोसेको छ । फेरि एउटा नयाँ कानुन हालै झिकेर सरकार कर्मचारीहरुको विरुद्ध कुनै उजुरी अथवा मुद्दा मामिला चलाउन पाइदैन भनेर सरकारले आफूलाई चोखो तानाशाही सरकार घोषित गरेर देशमा नोकरशाहीलाई मजवुद पार्ने कोशिस गरेको छ ।

यति मात्रै होइन, यो सरकारले एकातिर जनताको प्रजातान्त्रिक अधिकारहरुमाथि हनन् गर्दै आएको छ भने अर्कोतिर विदेशी हस्तक्षेपलाई बढाउदै आएको छ । आज राष्ट्रिय फौजलाई आधुनिक ढंगमा तालिम दिने बहानाले भारतीय फौजी कमिशनलाई ल्याइएको छ । सडक बनाउने बहानाले भारतीय फौजलाई निम्त्याइएको छ । भारतीय फौजलाई स्वेच्छापूर्वक हाम्रो प्रदेशहरुमा पस्ने इजाजत दिइएको छ, यहाँ सम्म कि यो सरकारले आफ्नो सीमानाको रक्षाको बहानाले भारतीय फौजी टुकुडीहरुलाई हाम्रो उत्तरी सीमानामा राखेको छ । यसरी भारतीय हस्तक्षेपलाई बढ्न दिनुको साथै अमेरिकी साम्राज्यवादीहरुले यहाँ खास गरेर राजधानी मै देशका प्रतिक्रियावादी तत्वहरुलाई आफ्नो दलाल बनाएर विभिन्न षड्यन्त्रहरु गरेको सरकारले राम्ररी चाल पाएर पनि उनीहरुलाई यसो गर्ने मौका दिइरहेको छ ।

९) यसरी देशको आर्थिक तथा राजनीतिक स्थिति विग्रदै आउनको साथसाथै एकातिर जनताको आन्दोलन पनि बढ्दै गएको छ । शाही घोषणा तथा मुद्रास्फितिको बारे भएका जनआन्दोलनहरु विभिन्न जिल्लाहरुमा भएका किसान आन्दोलनहरु पनि कम उल्लेखनीय छैनन् । अर्कोतिर देशको विग्रदो स्थिति र बढ्दो आन्दोलनको फलस्वरुप शासक वर्गहरु तथा शासक पार्टीहरु जनतादेखि अलग्गिदै बढ्दै गएको छ । यही कारणले गर्र्दा आज मन्त्रीमंडलमा संकट आएको छ । जुन बेला पनि यो भंग हुने सम्भावना पैदा भइरहेको छ ।

१०) शसस्त्र क्रान्ति जब बिचैमा रोकियो, क्रान्तिमाथि धोखा भयो । त्यस बेलादेखि कम्युनिष्ट पार्टी, यद्यपी त्यसबेला पार्टीको संगठन भर्खरै सुरु भइरहेको थियो, क्रान्तिमाथि भएको धोखाको फलस्वरु देश र जनताको राजनीतिक स्थिति यस अवस्थामा पुग्न जानेछ भन्ने कुरा जनतामा पुर्याउदै आएको छ । साथै पार्टीले जनताका तात्कालिन मागहरु अहिल्यै पुरा हुनु पर्दछ भन्ने माग गर्दै आएको हो । पार्टीले किसानहरुको मोहीयानी हकको रक्षा, कुत कम गराउने, नाजायज रकमहरु बन्द गराउने, कानुनी ब्याजमा कर्जा दिलाउने आदि किसानहरुका तात्कालिन मागहरुलाई अगाडी बढाउदै किसानहरुको संघर्षमा साथ दिदै आएको छ । पार्टीले मजदुरहरुको निम्ति उनीहरुको ट्रेड यूनियन अधिकार, पाउन लाएको मजदुरी र कामको घण्टा ८ गराउने तथा अरु सुविधाहरुको मागलाई अगाडी बढाउदै आएको छ । सरकारी तथा गैरसरकारी कर्मचारीहरुको वेतन वृद्धिको माग पनि पार्टीले गरेर आएको छ । साथै विद्यार्थी तथा युवकहरुको समस्यालाई लिएर पनि पार्टीले उनीहरुको संघर्षमा साथ दिदै आएको छ ।

पार्टीले यो कुरा पनि जनतालाई दिन छाडेको छैन कि क्रान्तिमाथि धोखा दिएर खडा भएकोले यो हामी सरकार र राणा सरकारमा बुनियादी फरक छैन । हाम्रो क्रान्ति सफल भएको छैन । साथै पार्टीले वर्गविहीन तथा शोषणरहित समाज व्यवस्था देशमा बसाल्ने पार्टीको अन्तिम उद्देश्य हो भन्ने कुरा जनतामा दिदै आएको छ । यो सरकार र राणा सरकारमा बुनियादी फरक नभएकोले यो सरकारको ठाउँमा जनताको प्रजातान्त्रिक सरकारको स्थापना नभएसम्म देशको आर्थिक तथा राजनीतिक व्यवस्थामा बुदियादी फरक ल्याउन सकिदैन । अतः पार्टीले आजको मुख्य समस्या यो सरकारको ठाउँमा जनताको प्रजातान्त्रिक सरकारको स्थापना गर्ने हो भन्ने कुरा जनतालाई बताउँदै आएको हो । साथै पार्टीले पनि भनेको छ कि जबसम्म यस्तो सरकार देशमा बसाल्न सकिदैन, त्यसबेला सम्म विदेशी हस्तक्षेपलाई देशबाट हटाउन सकिने छैन । त्यसकारण, पार्टीले यो सरकारलाई खत्तम गरेर जनताको सरकार बसाल्नका निम्ति आजको समस्या जनताको विभिन्न भागको आन्दोलनलाई उठाउनु र जनताको एक भागको संघर्षसंग अर्को भागको संघर्ष मिलाउनु र यसरी जनताको संयुक्त मोर्चा खडा गराउनुलाई बताएको छ । साथै पार्टीले यो पनि बताएको छ कि जनताका संघर्षलाई बढाउनका निमित्त जनताका तत्कालिन मागहरुलाई लिएर उनीहरुको संघर्ष चलाउनु पर्दछ । अतः आजको हाम्रो मुख्य समस्या जनआन्दोलनहरुलाई बढाउनु र जनताको संयुक्त कारवाही उठाउन दिनु हो ।

पार्टीले आजसम्म देश तथा जनताका दुश्मनको भण्डाफोर गर्न, देशमा प्रजातान्त्रिक सरकारको स्थापना गर्न, जनताका तात्कालिन मागहरुलाई पुरा गराउन विदेशी हस्तक्षेपको विरुद्ध संघर्ष गरी देशको स्वतन्त्रतालाई कायम राख्न इमान्दारी साथ संघर्षमा अगाडी बढ्न, जनता र प्रजातन्त्रको स्वार्थको निम्ति सवैभन्दा अघि बढ्ने प्रतीज्ञा गर्दछ ।
–राष्ट्रिय मुक्तिको निम्ति
–जग्गा काम र मामको निम्ति
–जनवादी शिक्षाको निम्ति
–राष्ट्रिय उद्योग धन्दाको निम्ति
–विश्व शान्तिको निम्ति
सवै पार्टी, संगठन, गुट तथा व्यक्तिहरुको राष्ट्रिय जनवादी संयुक्त मोर्चा खडा गरी अगाडी बढ ।

(नोटः नेपाल कम्युनिष्ट पार्टीको पोलिटिकल व्युरोको १५।१०।५४ को बैठकमा कमरेड पुष्पलालद्धारा प्रेसित र उक्त वैठकद्धारा पारित घोषणा पत्र । यो सामग्री हामीले पुष्पलालका छानिएका रचना भाग–४ बाट लिइएको हो–

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार