
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विप्लव र मोहन वैद्य किरणले नयाँ पार्टी बनाएपनि त्यसको औचित्य पुष्टि गर्न नसकेको दाबी गरेका छन् ।
जनयुद्ध कुनै लहडमा नभएको जिकिर गर्दै उनले एक्लै एक्लै अगाडि जाँदा क्षतविक्षत हुने तर्क गरे । उनले पार्टी एकताका लागि पूर्वमाओवादी नेताहरुसँग छलफल भइरहेको बताए । ‘किरणको अर्को पार्टी बन्यो, चल्ने कुरो भएन । विप्लवको बन्यो, तपाईंहरु नै भुक्तभोगी बनेर आउनुभएको छ । हुने कुरा थिएन । त्यो त्यति सजिलो कुरा थिएन,’ उनले भने, ‘कसैले चाहँदैमा, लहड चल्दैमा क्रान्ति हुने पनि होइन ।’
प्रतिक्रियावादीहरुले क्रान्तिकारी नेतृत्व सिध्याउन खोजेको प्रचण्डको जिकिर थियो । ‘प्रचण्ड भन्ने कुरा प्रचण्डले जन्माको त होइन, नेपाली जनताले जन्माएको । तपाईं हामी सबै लडेर निर्माण गरेको हो नि प्रचण्ड भन्ने व्यक्ति होइन । फेरि एउटै युगमा एउटै कालखण्डमा थुप्रै प्रचण्ड हुनै सक्दैनन्,’ उनले भने, ‘थुप्रै माक्र्स, लेनिन र माओ हुँदैनन् एउटा समय र एउटा कालमा । जनता, आन्दोलन, संघर्ष, बलिदानले पैदा गर्ने हो, सही विचारले पैदा गर्ने हो । सही निर्णयहरुले पैदा गर्ने हो । यसलाई वर्ग संघर्षको रुपमा प्रतिक्रियावादीहरुले सिध्याउन खोज्छन् । जनताले त्यसलाई बचाउन खोज्छन् ।
ढिलो छिटो विप्लव पनि माओवादी केन्द्रमा आउने प्रचण्डको विश्वास छ ।







