आगामी निर्वाचनमा तपाईंहरू भाग लिनुहुन्छ ?

चुनावमा भाग लिनु भनेको अहिलेको संविधान र कानुनमा छिर्नु हो । हामीले यो व्यवस्था मानेका छैनौं । व्यवस्था परिवर्तन अनिवार्य छ । चुनावमा भाग लिएर यो प्रक्रियामा छिर्दा हाम्रो सन्दर्भ समाप्त हुन्छ । यो चुनाव होइन, प्रगतिशील सरकार निर्माण गरी जनमत संग्रह गरौं । त्यसबाट फैसला गरौं । जनताद्वारा निर्वाचित शासन हुनुपर्छ, प्रतिस्पर्धात्मक पनि हुनुपर्छ । आवधिक चुनाव पनि हुनुपर्छ । अहिले दलाल पुँजीपति वर्गका लागि चुनाव भइरहेको छ । अब जनताको हित हुने व्यवस्था स्थापना गरौं ।

आगामी निर्वाचनमा एमालेलाई सघाउने भन्ने छ नि ?

हाम्रो पार्टीभित्र छलफल छैन । बाहिर हल्ला चल्न सक्छ ।

सरकारसँग भएको सम्झौता कार्यान्वयन किन भएन ?

सरकारले मुद्दा फिर्ता लिने भनेको छ । केही मुद्दा फिर्ता भए । अस्ति हामीले मिडियाबाट सुन्यौं, नेपाली सेनाले अहिले पनि नेकपाबाट थ्रेट छ भनेछ । सेनाले त्यो कुरा किन भन्यो, थाहा छैन । देशमा एउटा माफिया ग्रुप छ, त्यसले देशमा परिवर्तन होस् भन्ने चाहँदैन । शान्ति पनि चाहँदैन । त्यसले अस्थिरता र द्वन्द्व निम्त्याएर फाइदा लिने खोजिरहेको छ ।

पूर्वपार्टी माओवादीका गतिविधिलाई कसरी हेर्नुभएको छ ?

एमाले, कांग्रेसभन्दा माओवादी फरक छैन । एमाले, कांग्रेस, माओवादी, राप्रपा, मधेसवादी उस्तै पार्टी हुन् । तात्त्विक फरक छैन । त्यहाँ कसले जित्ने र कुर्सी हत्याउने भन्ने छ । नयाँ तरक्की गर्ने स्थिति कसैको छैन । दलाल संसदीय प्रणालीमा फसेपछि नेताहरूले काम गर्न सक्दैनन् । यो व्यवस्थामा गए हामी हुने पनि त्यस्तै हो, जस्तो अहिले माओवादी छन् । त्यसैले हामीले सबै मिलेर दलाल पुँजीवाद अन्त्य गरेर राष्ट्रिय पुँजीको विकास गर्ने, अन्तर्राष्ट्रिय पुँजीसँग प्रतिस्पर्धा गर्न सक्ने नेपाली जनतालाई समृद्ध बनाउने वैज्ञानिक समाजवाद स्थापना गरौं भनेका हौं ।

नेता बास्तोलासँग कान्तिपुर दैनिकले लिएको अन्तर्वार्ताको सानो अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार