
एमसीसी नेपालमा लागू नहोस् भन्ने चीनको चाहना हो त?
बिल्कुल होइन। कहाँबाट कसरी लगानी भित्र्याउने भन्ने कुरा नेपालले आफैँ निर्णय गर्ने हो। यसो गर, त्यसो गर भनेर कुनै सुझाव दिने पक्षमा चीन छैन। चीनले नेपालमा आउने अरु मुलुकका लगानीलाई स्वागत गर्छ। वास्तवमा चीन नेपालभित्र ठूला विकास परियोजना निर्माण गर्न भारत, अमेरिका वा अन्य कुनै तेश्रो मुलुकसँग सहकार्य गर्न तयार छ।
नेपाल अतिकमविकसित भूपरिवेष्ठित मुलुक हो। के नेपालले अमेरिकी सर्त अनुसारका विकास परियोजना कार्यान्वयन गर्न सक्ला? के अमेरिकी लगानीबाट नेपाल विकासको पथमा लम्किन सक्ला? मलाई लाग्छ, अमेरिकाले खोजेजस्तो उपयुक्त राजनीतिक र बिजनेस स्ट्यान्डर्ड नेपालमा छैन। त्यसैले अमेरिकालाई नेपालभित्र लगानी गर्न त्यति सहज छैन। तर हामी अमेरिकाले नेपालमा गर्ने लगानीको विरुद्धमा छैनौँ।
दुई वर्षअघि चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणताका नेपाल र चीनबीच केरुङ–काठमाडौँ रेलमार्ग निर्माणका लागि थुप्रै समझदारी भएका छन्। रेलमार्ग अघि बढाउने योजना अहिले कहाँ पुग्यो? चिनियाँ विज्ञ हुनुका नाताले यहाँलाई यसबारे केही जानकारी छ?
चीनले नेपालबाट दुरीका हिसाबले नजिकमा रहेका सिचुवान प्रान्त र स्वशासित क्षेत्र तिब्बतमा उच्च गतिको रेल निर्माण गरिसकेको छ। नेपालसम्म रेल विस्तार गर्ने कुरा निकै समय लाग्छ। किनकि नेपालसँग रेल जोड्न कठिन उच्च हिमाली भू–बनोट छ। अग्ला पहाड छिचोलेर रेल परियोजना निर्माण गर्नुपर्ने हुन्छ। यसका लागि प्रशस्त गृहकार्य हुनु आवश्यक छ।
चिनियाँ प्राध्यापक वाङ यिवेईसँग नेपालखबर अनलाइनले गरेको कुराकानीको सानो अंश ।







