
नेपाल कम्युनिस्ट पार्टीद्धारा कार्तिक ३० गते नेपालबन्दको आयोजनामा देशका विभिन्न ठाउँमा मशाल जुलुश कार्यक्रम सम्पन्न गरिएको छ ।
यसैक्रममा नेकपा चितवनले सोमबार साँझ चितवनका विभिन्न स्थानमा मसाल जुलुस सम्पन्न गरेको छ ।
नेकपा चितवनले चितवनका मुख्यमुख्य बजार भरतपुर महानगर पालिकाको नारायणगढ बजार, पश्चिम चितवनको चनौली, पुर्वि चितवनको भण्डारा बजार र टाँडी बजार साथै माडीको बसन्तपुर बजारमा मसाल जुलुस सम्पन्न गरेको हो ।
यसैगरी नेपाल कम्युनिस्ट पार्टीले धनगढीमा मशाल जुलुस प्रदर्शन गरेको छ ।
मालपोत रोडबाट निस्किएको जुलुसले रातोपुल हुँदै प्रदेशसभा भवन अगाडि आएर प्रदर्शन गरेको थियो । सरकारले जनताको ढाड सेक्नेगरी पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको भन्दै सङ्घर्षमा उत्रिएको नेकपाले मूल्यवृद्धि फिर्ता हुनुपर्ने माग गर्दै आएको छ ।
प्रदेशसभा अगाडि मशाल बालेर प्रदर्शन गरिरहेका नेकपा कार्यकर्ताहरूलाई प्रहरीले रोक्न खोजे पनि प्रहरीलाई छक्याएर मशाल बाल्दै प्रदर्शन गरेका थिए ।
यस्तैं नेपाल कम्युनिस्ट पार्टी रामेछापले नेपाल बन्दको पूर्वसन्ध्यामा सोमबार साँझ जिल्ला सदरमुकाम मन्थलीको मुख्य चोकमै मसाल जुलुस निकालेको छ ।
यसैक्रममा नेपाल बन्दको पूर्वसन्ध्यामा काठमाडौँका विभिन्न ठाउँमा मसाल जुलुस गरेको पार्टी स्रोतले जनाएको छ ।
काठमाडौँ महानगरपालिकाको क्षेत्रपाटीमा, दक्षिणकाली नगरपालिकाको फर्पिङ बजारमा, चन्द्रागिरी नगरपालिकाको थानकोटमा, नागार्जुन नगरको डाडापौवा, तारकेश्वर नगरको सेषमती, टोखा नगरपालिकाको टोखा बजार मसाल जुलुस गरेको छ ।
त्यसैगरी बन्दको पुर्वसंध्यामा नेकपाले इलाम जिल्लाका पाँचवटा पालिकामा एकैसाथ मसाल जुलुस निकालेको छ । इलाम सदरमुकाम, फिक्कल बजार, शान्तिनगर, माइनगरपालिका, चुलाचुलिमा मसाल जुलुस निकालेको हो ।







